आइतवार, मंसिर ३०, २०८१

अस्पताल बनाउने अहेव

सुर्खेत । उनी सरकारी अहेव थिए । तर सपना थियो– आफ्नै अस्पताल खोल्ने । २०६२ तिर डा. केशर ढकाललाई त्यही सपना सुनाउँदै उनीसँग भएका चिकित्सकका प्रमाणपत्र मागे । ढकालमात्र होइन, तत्कालीन सुर्खेत जिल्ला अस्पतालमा कार्यरत अन्य डाक्टरले पनि नर्सिङ होम खोल्नको लागि आवश्यक पर्ने  आफ्ना प्रमाणपत्रहरु दिए । अहेव खगेन्द्र थापाले २०६३ सालमा सुर्खेतमै पहिलोपटक निजी क्षेत्रबाट देउती नर्सिङ होम स्थापना गरे ।

सुरुमा १० शैयाबाट सुरु भएको नर्सिङ होम अहिले देउती अस्पतालको रुपमा ५० शैयामा चलिरहेको छ । कर्णाली प्रदेशमै निजी क्षेत्रबाट पहिलो र ठूलो अस्पताल स्थापना गरेका थापाको शनिबार निधन भएको छ । उनले संघर्ष ग¥यो भने जतिसुकै ठूलो सपना पनि पूरा गर्न सकिन्छ भन्ने विश्वास छोडेर गएका छन् । ‘उहाँ अहेवमात्र भए पनि आँटेको काम पूरा गर्न सक्नुहुन्छ भन्ने विश्वास थियो, त्यसैले अस्पताल स्थापनाको लागि सहयोग गरेका थियौं,’ डा. ढकाल सम्झिन्छिन्, ‘आखिर डेढ दसकमै उहाँले आफ्नो दूरदर्शी योजना सफल बनाउनुभयो ।’

करिब ५ वर्षअघि ५० बेडको अस्पतालमा स्तरोन्नति भएको देउतीमा अहिले ७ जना चिकित्सकसहित ४९ स्वास्थ्यकर्मी कार्यरत छन् । स्थापनाकालदेखि नै अस्पतालको प्रशासन फाँटमा कार्यरत धनसिंह बिसीका अनसार अस्पतालले ५ वटा आइसीयूसहित सिटी स्क्यान, इन्डोस्कोपी, जटिल सल्यक्रिया सेवा सञ्चालन भइरहेको छ । ‘उहाँका योजना र सपना त अझ धेरै थिए, तर भाग्यले साथ दिएन,’ उनले भने, ‘तैपनि यो अस्पताल कर्णालीका जनताको लागि भरोसाको केन्द्र हो ।’ पछिल्लो समय अस्पतालमा करिब १५ करोडको लगानी रहेको उनले बताए । अस्पताल वीरेन्द्रनगरस्थित आफ्नै घरमा सञ्चालित छ ।

स्वर्गीय खगेन्द्र थापाले स्थापना गरेको देउती अस्पताल

थापा अहेव थिए, तर उनको निजी अस्पतालमा सरकारी अस्पतालका चिकित्सकहरु बिहान–साँझ काम गर्थे । उनीहरु सरकारी अस्पतालमा थापाका ‘हाकिम’ हुन्थे, देउतीमा भने ‘जागिरे’ । डा. ढकालका साथै डा. भोलाराम श्रेष्ठ, डा. न्हुच्छेमात्र डंगोल, डा. हरि सापकोटा (स्वर्गीय), डा. रामशंकर ठाकुरजस्ता स्थापित र चर्चित डाक्टरले उनको अस्पतालमा काम गरे । ‘उहाँ डाक्टरलाई मात्र होइन, सामान्य बिरामीलाई पनि उत्तिकै ‘रेस्पेक्ट’ गर्नुहुन्थ्यो, अस्पतालको ‘मालिक हुँ’ भन्ने भाव कहिल्यै पनि देखिएन,’ डा. ढकाल भन्छन्, ‘त्यसैले जनताले विश्वास गरेका डाक्टरलाई साथ लिएर अस्पताल खोल्नुभयो ।’

थापाले अहेवको जागिर खाएर अस्पतालमात्र खोलेनन्, उनकै प्रेरणाले परिवारका अन्य सदस्यसमेत स्वास्थ्य क्षेत्रमा जोडिए । छोरा लोकेन्द्र र छोरीहरु कविता तथा अम्बुले एममबीबीएस पास गरेर चिकित्सा सेवा सुरु गरिसकेका छन् । अर्की छोरी स्मृति डेन्टल (दन्तरोग विशेषज्ञ) पढ्दैछिन् । सिएमए पढेका दुईटा श्रीमती (चन्द्रा र यशोधा) मध्ये चन्द्रा कर्णाली प्रदेश अस्पताल कालागाउँमा अहेव (छैटौंं तह) कार्यरित छिन् । भाइ डम्बर पनि सरकारी सेवामा अहेब छन् । बिरामले थलिँदै गएपछि वीरेन्द्रनगरको कटकुवा स्वास्थ्य चौकीमा कार्यरत थापाले करिब २ महिनाअघि अहेब (सातौं) बाट अवकास लिएका थिए ।

२०४७ सालमा अहेवको जागिर सुरु गरेका थापाले सुरुवाती चरणमा कालीकोट, जाजरकोट, दैलेखका ग्रामीण क्षेत्रमा सेवा गरेका थिए । जागिरकै सिलसिलामा उनले सुर्खेत र दैलेखमा थापा मेडिकल हल स्थापना गरे । डा. ढकालका अनुसार अहिलेको अस्पतालको जग त्यही मेडिकल हल हो । ‘उहा“को मिहिनेत, लगनशिलता र दक्षताले छोटो समयमै जनविश्वास आर्जन ग¥यो, त्यसमाथि उहाँ सानैदेखि केही नयाँ काम गरौं, समाजसेवा गरौं भन्ने भावनाको हुनुहुन्थ्यो,’ थापाका भाइ नाता पर्ने डा. ढकाल भन्छन्, ‘अन्ततः सबैको विश्वास बोकेर अस्पताल खोल्ने आँट गर्नुभयो ।’

५८ वर्षीय थापा अहेव भए पनि सर्वसाधारणको नजरमा ‘डाक्टर’ थिए । उनीप्रति बिरामीको विश्वास यति धेरै थियो कि, अस्पतालमा आएका कतिपय बिरामी डाक्टरलाई छोडेर उनीकहाँ पुग्थे । अस्पतालको प्रशासकीय र व्यवस्थापकीय कामले जति व्यस्त भए पनि आफूकहाँ आएका बिरामीलाई निःशुल्क चेकजाँच गर्थे । गरिब र बिपन्न बिरामीलाई त अस्पतालले लिने अन्य शुल्कमा समेत छुट दिन्थे । ‘उस्तै डाक्टरभन्दा त उहाँले राम्रो उपचार गर्नुहुन्थ्यो, उहाँले भ्याएसम्म मैले कहिल्यै पनि अरु डाक्टरलाई जँचाइनँ,’ वीरेन्द्रनगर–८ का संगम लामिछाने भन्छन्, ‘उहाँले जाँचेको बिरामी सन्तुष्ट नभएको मैले आजसम्म थाहा पाएको छैन ।’

करिब एक वर्षअघि भारतको नयाँदिल्लीबाट मृगौला प्रत्यारोपण गरेर सुर्खेत फर्केका थापा आप्mनो सपनाबाट कहिल्यै बिचलित भएनन् । बरु उनले आफ्नो सपनामा अरुलाई पनि डो¥याए । थापाले देउती अस्पताल खोलेपछि नै हो, सुर्खेतमा निजी क्षेत्रबाट अस्पताल खोल्ने लहर चलेको । अहिले सुर्खेतमा निजी क्षेत्रबाट आधा दर्जन अस्पताल तथा नर्सिङ होम सञ्चालनमा छन् । उनको अर्को सपना थियो, सुर्खेतमा मेडिकल कलेज खोल्ने । त्यसको लागि पूर्वाधारमात्र होइन, घरमै जनशक्तिसमेत तयार पारेर उनी विदा भएका छन् । ‘उहाँ समयलाई आप्mनो पकडमा राखेर चल्ने र निकै दूरदर्शी हुनुहुन्थ्यो,’ डा. ढकाल भन्छन्, ‘कर्णालीको स्वास्थ्य क्षेत्रमा ठूलो प्रेरणा बनेर जानुभएको छ ।’

साभार : कान्तिपुर दैनिक