शुक्रबार, साउन ४, २०८१

प्रेस यूनियनको महाधिवेशन अनिश्चित

  
कर्णाली टाइम्स आइतवार, मंसिर २९, २०७६

नेपाल प्रेस यूनियनको केन्द्रीय महाधिवेशन अनिश्चितकालको लागि स्थगित गरिएको छ । यूनियनले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी मंसिर २८ र २९ गतेका लागि तोकिएको महाधिवेश विविध कारणले समयमै सम्पन्न गर्न नसकेकोमा क्षमायाचना गरेको छ ।
अध्यक्ष बद्री सिग्देलद्वारा हस्ताक्षरित विज्ञिप्तिमा भनिएको छ, ‘समयमै महाधिवशेन सम्पन्न हुन नसकेको अवस्थाबाट संगठनप्रति समर्पित, चिन्ता, चासो र सरोकार राख्ने सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिँदै महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्दछु ।’ करिव एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै हुन नसकेको र केही जिल्लामा सहमति हुन नसक्दा महाधिवशेन प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेशमै पनि सुर्खेत र कालिकोटमा दुई–दुईवटा समानान्तर समिति गठन भएका छन् । दैलेखमा अधिवेशन उद्घाटन भए पनि नयाँ नेतृत्व चयत प्रक्रिया सुरु हुन सकेको छैन ।
सिग्देल नेतृत्वको बर्तमान कार्यसमितिले नेपाल पत्रकार महासंघको केन्द्रीय र प्रदेश निर्वाचनमा यूनियनका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रेसको घाँटी निमोठ्ने दुईतिहाइको सरकारका विरुद्ध पनि सशक्त र ऐक्यतावद्ध भएर लड्नु परेकोले पनि महाधिवेशन प्रभावित भएको छ ।’
(नेपाल प्रेस यूनियनद्वारा बिहीबार प्रकाशित प्रेस विज्ञप्ति)