आइतवार, जेष्ठ ६, २०८१

चालकलाई ट्राफिक सचेतना

  
जगतदल जनाला विक मंगलबार, माघ २१, २०७६
ट्राफिक नियमका बारेमा जानकारी दिंदै ट्राफिक प्रहरी

सुर्खेत, २१ माघ । दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय सुर्खेतले चालकहरुका लागि एक दिने सचेतना कार्यक्रम गरेको छ ।
मंगलवार टिप्पर, ट्याक्टर र ट्रकका चालकहरुलाई ट्राफिक नियमका बारेमा सचेतना कार्यक्रम गराइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए ।
‘पछिल्लो समय सुर्खेतमा दुर्घटनाहरु बढ्नुको कारण भनेकै ट्राफिक नीति नियमका बारेमा जानकारी नहुनु हो । त्यसैले ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेका हौं ।’ उनले भने, दैनिक सात सय भन्दा बढी सवारी साधनहरु भ्यालीमा आवतजावत गर्ने गरेका छन् ।
प्रमुख सिजापतिका अनुसार सवारी साधनको तुलनामा सडकको गुणस्तर नहुँदा बढी दुर्घटना हुने गरेका छन् ।
ओभर स्पिड, मापसे, ओभरलोड, ट्राफिक नियमको पालना नगर्नु लागायतका कारणबाट दुर्घटना हुने गरेको उनले बताए ।

दुर्घटना हुनुमा ट्राफिक नियमका बारेमा जानकारी नहुनु पनि कारण भएको ट्रक चालक बिर बहादुर विकले बताए । पहिलो पटक ट्राफिक सचेतना कार्यक्रममा भाग लिएका ट्याक्टर चालक पारस खड्काले यो कार्यक्रमबाट ट्राफिक नीति नियम सम्बन्धी धेरै कुराहरु सिकेको र अब व्यवहारमा उतार्ने बताए ।
सचेतना कार्यक्रममा ९ यातायात व्यवसायीका ८० जना चालकहरु सहभागी भएका थिए ।

ट्राफिक नियमका बारेमा जानकारी लिंदै चालकहरु