सुर्खेत । २०७४ सालको प्रदेशसभा निर्वाचनबाट कर्णाली प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक गरी ४० जना सांसद चुनिएका थिए । तीमध्ये कोही कार्यपालिका (सरकार)मा छन् भने कोही व्यवस्थापिका (संसद)मै विभिन्न जिम्मेवारीमा रहेका छन् । संसद सचिवालयले सबैको व्यक्तिगत परिचय झल्किने गरी ‘प्रदेशसभा सदस्य परिचय पुस्तिका’ सार्वजनिक गरेको छ । उक्त पुस्तिकामा सांसदहरुको शिक्षादेखि राजनीतिक पृष्ठभूमि उल्लेख गरिएको छ ।
प्रदेशसभामा चुनिएकामध्ये कोही सामान्य साक्षर छन् भने कोहीले दुई विषयमा स्नातकोत्तरको उपाधि हाँसिल गरेका छन् । कांग्रेसबाट समानुपातिक सांसद चुनिएकी मुगुकी झोवा विक र सुर्खेतकी अमृता शाही तथा नेकपाबाट सुर्खेत १ (ख) मा निर्वाचित पूर्वमन्त्रीसमेत रहेका खड्क खत्रीको शैक्षिक योग्यता सामान्य लेखपढ उल्लेख छ । विक २०५०, खत्री २०३४ र शाही २०४६ सालदेखि राजनीतिमा सक्रिय छन् । त्यस्तै, राप्रपाकी एक्ली सांसद कालिकोटकी सोशीला शाहीले ८ कक्षासम्म अध्ययन गरेकी छिन् । उनी २०५० सालदेखि राजनीतिमा लागेकी पुस्तिकामा उल्लेख छ । कांग्रेसका समानुपातिक सांसद सुर्खेतका यज्ञबहादुर बिसी र नेकपाका रातो कामीको शैक्षिक योग्यता पनि ८ कक्षा पास रहेको छ । कामी २०५० सालदेखि र बिसी २०४६ सालदेखि राजनीतिमा लागेका हुन् ।
‘अन्डर एसएलसी’ सांसदको सूचीमा नेकपा सांसद मिनासिंह रखाल र वीरबहादुर शाही पनि रहेका छन् । यी दुबैले कक्षा १० सम्म अध्ययन गरेका छन् । रखाल २०४६ साल र शाही २०५२ सालदेखि राजनीतिमा लागेका हुन् ।
पुस्तिकामा उल्लेखित विवरणअनुसार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सांसद धर्मराज रेग्मीले दुई–दुईवटा विषयमा स्नातकोत्तर गरेका छन् । ज्वालाले अंग्रेजी र राजनीतिशास्त्रमा एमए गर्नुका साथै कानुनमा बिएल गरेका छन् । उनी २०३९ सालदेखि राजनीतिमा सक्रिय छन् । त्यस्तै, रेग्मीले कानुन एलएलएम र एमए गरेका गरेका छन् । उनी २०५२ सालदेखि राजनीतिमा सक्रिय छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको शैक्षिक योग्यता एसएली पास रहेको छ । २०७४ फागुन ३ देखि कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाएका शाही २०४८ सालमा नेकपा मसालबाट राजनीतिमा होमिएका थिए । सभामुख राजबहादुर शाहीले व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । उनी २०३९ सालबाट राजनीतिमा आवद्ध भएका छन् । त्यस्तै, उपसभामुख पुष्पा घर्ती विष्टले एसएलसी उत्तीण गरेकी छन् । २०५३ सालदेखि राजनीतिमा आवद्ध भएकी हुन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले राजनीतिशास्त्रमा एमए गरेका छन् । उनले २०४६ सालदेखि सक्रिय राजनीति थालेका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजनीतिशास्त्रमा स्नातक गरेका छन् । उनी २०५१ सालदेखि राजनीतिमा आवद्ध भएका हुन् । त्यस्तै, २०६३ सालदेखि राजनीतिमा आवद्ध भएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले राजनीतिशास्त्र र कानुनमा स्नातक उत्तीर्ण गरेकी छिन् । उनी २०५१ सालदेखि राजनीतिमा आवद्ध भएकी हुन् । सामाजिक विकासमन्त्री दल रावलले समाजशास्त्रमा स्नाकोत्तर गरेका छन् । उनी २०४४ सालदेखि राजनीतिमा आवद्ध भएका हुन् ।
प्रदेशसभामा अर्थ समितिका अध्यक्ष अमर थापाले एसएलीसम्म पढेका छन् । उनी २०४८ सालदेखि राजनीतिमा आवद्ध छन् । २०४५ देखि राजनीतिमा होमिएकी सामाजिक विकास समिति अध्यक्ष राजु नेपालीले एसएलसीसम्म अध्ययन गरेकी छन् । सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले कृषिमा आइएससी गरेका छन् । उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय छन् । विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष पदम रोकायाले प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । उनी २०४७ सालदेखि राजनीतिमा आवद्ध छन् ।
अन्य सांसदहरुले पनि एसएलसीदेखि स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । करवीर शाही र चन्द्रबहादुर शाहीले आइएल गरेका छन् । करवीरले २०४६ र चन्द्रबहादुरले २०४४ सालदेखि राजनीति थालेका हुन् । कुर्मराज शाहीले अर्थशास्त्र र अंग्रेजीमा स्नातक अध्ययन गरेका छन् । उनी २०४७ सालदेखि राजनीतिमा आवद्ध छन् । सांसदद्वय कृष्णा शाह (आचार्य) र कौशिलावती खत्रीको शैक्षिक योग्यता पनि १२ कक्षा पास हो । शाहले २०५५ सालमा र खत्रीले २०५२ सालमा राजनीतिक यात्रा सुरु गरेका हुन् । अर्का सांसद गणेशप्रसाद सिंहले एसएलसीसम्म अध्ययन गरेका छन् । उनी २०४७ सालदेखि राजनीतिमा आवद्ध छन् । प्रदेशसभामा नेकपाका प्रमुख सचेत गुलाबजंग शाहले राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी २०४० सालदेखि राजनीतिमा आवद्ध छन् । सांसद गोपाल शर्माले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । उनी २०४६ सालदेखि राजनीतिमा लागेका हुन् । ठम्मर विष्टले समाजशास्त्रमा स्नाकोत्तर गरेका छन् । उनी २०४२ सालदेखि राजनीतिमा होमिएका हुन् । सांसदद्वय दानसिंह परियार र देवी ओलीले शिक्षा र कानुनमा स्नातक तहसम्म अध्ययन गरेका छन् । परियारले २०६५ सालदेखि र ओलील्े २०४७ सालदेखि सक्रिय राजनीति सुरु गरेका हुन् । सांसद पद्मा खड्काले स्नातक तहसम्म अध्ययन गरेकी छन् । उनी २०५८ सालदेखि राजनीतिमा प्रवेश गरेकी हुन् । सांसद बद्मी क्वारी बोहोराले एसएलसीसम्म अध्ययन गरेकी छन् । उनी २०५१ सालमा राजनीतिमा प्रवेश गरेकी हुन् ।
सांसद यामलाल कँडेलले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनी २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । बिन्दमान विष्टले मानविकी तथा समाजशास्त्रमा स्नातक गरेका छन् । उनी २०५० सालदेखि राजनीतिमा सक्रिय छन् । सुशीलकुमार थापाले अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा स्नातकोत्तर गरेका छन् । उनी २०५६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । नेकपाकी सचेतक सिताकुमारी नेपालीले राजनीतिशास्त्रमा स्नाकोत्तर गरेकी छन् । उनी २०४६ सालमा राजनीतिमा प्रवेश गरेकी हुन् । कांग्रेसका सचेतक हिमबहादुर शाहीले भने एसएलसीसम्म अध्ययन गरेका छन् । कर्णाली प्रदेशसभाका जेष्ठ सदस्य रहेका उनी २०३२ सालदेखि राजनीतिमा सक्रिय छन् ।
जगतदल जनाला विक
बुधबार, माघ २२, २०७६