सुर्खेत २४, माघ ।
दलितको मुद्धा गैरदलितको पनि हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा नं १० को आयोजनामा जातिय छुवाछुत तथा विभेद सम्बन्धि सचेतनामुलक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सांसद पद्मा खड्काले कर्णालीको भौगोलिक विकटता भन्दा अझै जातिय छुवाछुत दर्दनाक भएको बताइन् । कर्णालीका विभिन्न जातिय छुवाछुत हटाउनको लागि छुवाछुत सम्बन्धी विद्येयक ल्याउन लागिएको उनले बताइन् । ‘दलितका लागि दलित मात्रै होइन गैरदलित पनि लाग्नुपर्छ ।, उनले भनिन् ‘ हरेक व्यक्ति आफ्ना आचरण परिवर्तन गरे जातिय छुवाछुत अन्त्य हुनुसक्छ ।’ छुवाछुतलाइ गरिबीसंग समेत जोडिएकोले कर्णालीको गरिबी समेत हटाउन जरुरी भएको उनले बताइन् । कार्यक्रममा बोल्दै नेकपा प्रदेश कमिटि सदस्य अमृत बिसीले दलितले बनाएका सामागी्रलाई शुभ मान्ने र उनीहरुलाई अछुत मान्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले कसैले जातिय छुवाछुत गरेको खण्डमा तत्काल कानुनी उपचारमा लाग्नुपर्ने बताए । कार्यक्रममा सहभागी अधिकांशले दलितको मुद्धा सबैको हुनुपर्ने बताएका थिए ।
वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्ष रत्नबहादुर बुढाले आफ्नो वडाबाट जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताए । उनले हिजोको कुसंस्कारलाई परिवर्तन गर्न जरुरी भएको बताए । वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य लक्ष्मी वि.कले उत्पिडनमा रहेको समुदायलाई माथी उठाउनको लागि यो कार्यक्रमको आयोजना गरेको बताइन् । उनले कार्यक्रममा दलित मात्रै नभई गैरदलितलाई समेत सहभागी गराई कानुनमा भएको कुराहरुका बारेमा बुझाइएको बताइन् । कार्यक्रममा सहभागी करिब एकसय बढि सहभागीहरुले वडा नं १० मा जातीय छुवाछुत अन्त्यका लागि सरकारलाई सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कर्णाली टाइम्स
शुक्रबार, माघ २४, २०७६