शुक्रबार, असोज २५, २०८१

सेवाग्राहीलाई विभेद नगर्न राज्यमन्त्री रावतको निर्देशन

  
कर्णाली टाइम्स बुधबार, फागुन ७, २०७६

सुर्खेत, ७ फागुन ।
नेपाल सरकारका राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बिमा मार्फत उपचार गर्न आउने सेवाग्राहीलाई भेदभाव नगर्न निर्देशन दिएका छन् ।
प्रदेश अस्पताल सुर्खेतको १४ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरिएको कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले बिमा मार्फत उपचार गराउन आउने सेवाग्राहीलाई अस्पतालहरुले राम्रो व्यवहार नगरेको गुनासो सुनेको भन्दै विभेद नगर्न निर्देशन दिएका हुन् । ‘स्वास्थ्य बिमा गरेका सेवाग्राही सेवा लिन आउँदा अस्पतालले राम्रो व्यववहार नगरेको भन्ने गुनासाहरु सुनिन आएका छन’ राज्यमन्त्री रावतले भने,‘ मैले यस अस्पतालको मात्र कुरा गरेको छैन देशका विभिन्न ठाउँबाट यस्ता गुनासा आएका छन् आउँदा दिनमा यस्तो कुरा सुन्न नपरोस् ।’ मन्त्रीबीच कार्यविभाजनमा स्वास्थ्य बिमा कार्यक्रम हेर्ने जिम्मेवारी पाएका राज्यमन्त्री रावतले आगामी दिनमा यसलाई थप विस्तार र व्यवस्थित गरिने बताए । स्वास्थ्य उपचारमा जनताको ठूलो धनराशी खर्च भैरहेकोले स्वास्थ्य बिमामार्फत यसलाई घटाउने योजनामा सरकार लागिपरेको रावतको भनाइ छ । यसैक्रममा राज्यमन्त्री रावतले प्रदेश अस्पताल सुर्खेतलाइर्य चालु आर्थिक बर्षभित्रै तीन सय शैय्याको बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पछिल्लो समय प्रदेश अस्पताल सुर्खेतप्रति जनविश्वास बढ्दै गएकोले यसर्ला थप गुणस्तरीय र सेवा विस्तार गर्न व्यवस्थापन समिति र प्रशासनको महत्वपूर्ण भूमिका रहने बताए । स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार सधैँ सकरात्मक रहेको पनि उनको भनाइ छ ।
स्थापना दिवसकै अवसरमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश अस्पताल सुर्खेतबाट विगत दुई बर्षयता सेवा प्रवाहमा धेरै सुधार आएको बताए । उनले प्रदेश अस्पतालाई आउदो जेठभित्रमा तीन सय शैय्याको अस्पतालका रुपमा विस्तार गरिने बताए । प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रुपमा लिएकाले प्रदेश अस्पतालको विकासमा विशेष चासो दिएको मन्त्री रावलको भनाइ छ । सरकारले नीति निर्देशन दिएपनि अस्पतालको सेवालाई गुणस्तरीय एवं प्रभावकारी बनाउन व्यवस्थापन समिति र कर्मचारीहरुकै महत्वपूर्ण भूमिका हुने भएकाले पेशामा प्रतिबद्ध भएर काम गर्न सुझाव दिए । उनले कर्णालीको स्वास्थ्य स्थिति सुधार गर्नका लागि स्वास्थ्य तर्फका जनशक्ति व्यवस्था गर्न प्रदेश सरकारले विशेष सुविधा दिने निर्णय गरेको बताउँदै सरकारको अभियानमा साथ दिन अनुरोध गरे ।
अस्पतालका निर्देशक डा।डम्बर खड्काले अस्पतालले जनविश्वास आर्जन गर्दै गएको बताए । उनले विगतमा भन्दै हरेक बर्ष सेवाग्राहीको संख्या बृद्धिभएको तथ्यांक प्रस्तुत गर्दै यसले अस्पतालप्रति जनविश्वास बढेको प्रमाणित हुने जिकिर गरे । यस्तै अस्पताललाई शिक्षण अस्पताल र तालिम केन्द्रका रुपमा विकास गर्न लागेको निर्देशक खड्काले बताए । उनका अनुसार आर्थिक बर्ष ०७३÷०७४ मा आकस्मिक तर्फ ४ हजार ५७४ जनाले सेवा लिएकोमा आ।ब।०७४÷०७५ ६ हजार ९०२ जनाले सेवा लिएको थिए भने ०७५÷०७६ मा ९ हजार ९१३ जनाले सेवा लिएका थिए । चालु आर्थिक बर्षको छ महिनामा ६ हजार ९९३ जनाले सेवा लिइसकेका छन् । यस्तै बहिरंगसेवा तर्फ आ।ब। ०७३÷०७४ मा ४९ हजार ३३७, ०७४÷०७५ मा ६० हजार २३३, आ।ब। ०७५÷०७६ मा ७६ हजार ७२२ जनाले सेवा लिएकामा चालु आबको छ महिनामा ४३ हजार ३७९ जनाले प्रदेश अस्पतालबाट सेवा लिइसकेका छन् । यस्तै पछिल्ला चार बर्षमा प्रयोगशालाको सेवा लिनेको संख्यामा समेत हरेक बर्ष बृद्धि भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम कंडेलले प्रदेश अस्पतालको सेवालाई आगामी दिनमा थप विस्तार, गुणस्तरीय र प्रभावकारी बनाउँदै लगिने बताए ।
स्थापना दिवसका अवसरमा अस्पतालले उत्कृष्ठ कर्मचारी तर्फ चार जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा अधिकृत स्तरमा डा।गणेश थापा, सहायक स्तरमा नर्स कल्पना थापा, र श्रेणी विहिन तर्फ लक्ष्मण विसी र जल्नु वाल्मिकी रहेका छन् ।