मंगलबार, मंसिर २५, २०८१

सहमति पछि तनावग्रस्त बनेको छिन्चु खुल्यो

  
कर्णाली टाइम्स बिहीबार, फागुन ८, २०७६

सुर्खेत, ८ फागुन । फोर्स गाडीले ठक्कर दिँदा एक भेरीगंगा नगरपालिका–१२ छिन्चुमा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएपछि दुई दिनदेखि तनावग्रस्त बनेको सुर्खेतको छिन्चु बजार बिहीबार साँझदेखि खुलेको छ ।
पीडित परिवार, गाडी साहु र यातायात व्यवसायीबीच बिहीबार सहमति भएपछि आन्दोलन स्थगित भएको हो।
मृत्युपछि बोहराका आफन्तले उचित क्षतिपूर्तिका मागसहित आन्दोलन गरेका थिए। मृतकका आफन्तले मंगलबार र बुधबारसम्म छिन्चु बजारसँगै सवारी साधन ठप्प पारेका थिए। सडक बन्द गराउँदा जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोटबाट छिन्चु हुँदै बाहिरिने र भित्रिने यात्रु बीच बाटोमै रोकिएका थिए।

छिन्चु बजारमा मंगलबार राति साढे ८ बजे सडक छेउमा हिँडिरहेका बोहरालाई गाडीले हानेको थियो। ठक्करपछि घाइते भएका बोहराको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

आफू सवार मोटरसाइकल रोकेर कुरा गरिरहेको अवस्थामा बा ३ ख ६३५२ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो।

बिहीबार वार्ताका क्रममा मृतकका आफन्तलाई कानुनबमोजिम क्षतिपूर्ति दिने सहमति भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।