शनिबार, भदौ २९, २०८१

पाँच सय घुस नदिँदा ड्राइभरलाई प्रहरीको मुक्का

  
कर्णाली टाइम्स आइतवार, फागुन ११, २०७६
सामान बोकेर हुम्ला तर्फ जान लागेको कर्णाली प्रदेश ०२–००१ख००६९ नम्बरको मिनि ट्रक ।

जगतदल जनाला विक
सुर्खेत, ११ फागुन ।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा पाँच सय रुपैयाँ घुस नदिँदा ट्राफिक प्रहरीले ड्राइभर (चालक) लाई मुक्का हानेको छ ।
आइतबार कर्णाली करिडोर निर्माणका सामाग्री लिएर हुम्लातर्फ जान लागेको मिनि ट्रकका चालक दिपक प्रसाद पोखरेलमाथि पाँच सय नदिँदा ट्राफिक प्रहरीले मुक्का हानेकोे चालक पोखरेलले कर्णाली टाइम्सलाई बताए ।
कर्णाली प्रदेश ०२–००१ख००६९ नम्बरको मिनि ट्रक चलाएर गइरहेका पोखरेलसँग प्रहरीले ब्लुबुक र अन्य कागजात देखाउँदा पनि ट्राफिक प्रहरी योगेन्द्र रानाले मुक्का हानेको उनको आरोप छ । ‘एक क्विन्टल सामान बढि छ भनेर मैले भने, अनि उहाँ सरले त्यो भित्र मलाई पाँच सय रुपैंया राख्न भन्नुभयो । मैले किन दिने भनेर कुरा गर्दा मलाई अपशब्द बोल्दै मुक्का हान्नु भयो ।’ पोखरेलले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार त्यो घटनालाई बुझ्नका लागि प्रहरी निरीक्षक गोपाल राइमाझीलाई घटना स्थलमा पठाइएको छ । त्यहि घटनालाई लिएर यातायात व्यवसायी र व्यापारी, स्थानीयले सवारी साधन बन्द गरि आन्दोलन गरेका छन् ।