सुर्खेत । कर्णालीका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सवारीमा ‘घुमौं कर्णाली’ स्टिकर टाँसिएका छन् ।
कर्णाली प्रदेश पर्यटन मन्त्रालयको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिद्वारा सञ्चालित सवारी साधनहरुमा कर्णालीका पर्यटकीय स्थलहरु समेटिएका स्टिकरहरु टाँसिएको हो । ‘नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन सार्वजनिक सवारी साधानमा पर्यटकीय स्थल अंकित स्टिकिर टाँसेका हौं ।’ यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने, ‘सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल पार्न हामीले सबै सवारीहरुमा कर्णालीका प्रमुख पर्यटकीय गन्तव्य अंकित स्टिकर टासेका छौं ।’
उनका अनुसार समितिमा रहेका एकसय भन्दा बढी सवारी साधनमा स्टिकर टाँस गरिने भएको छ । यस्तै प्रालिले पहिलो चरणमा सुर्खेत–काठमाण्डौ र जाजरकोट–काठमाण्डौका लागि नयाँ ल्याइएका आठवटा रात्रीकालिन बस र कर्णालीका पहाडी सडक खण्डमा चल्ने २० वटा बसहरुमा स्टिकरहरु टाँसेको छ ।
प्रदेश सरकारले बाह्य र आन्तरिक पर्यटकहरु कर्णालीमा भित्र्याउन ‘यसपाली घुमौँ कर्णाली’ अभियान थालेको छ । बसहरुमा कर्णालीका रारा ताल, देउती बज्यै मन्दिर, बुलबुले उद्यान, जाजरकोट दरवार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर, शे–फोक्सुण्डो ताल लगायतका पर्यटकीय स्थलहरुका स्टिकर सवारीमा टाँसिएका छन् ।