सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल औषधी बाँड्दै गाउँ पुगेका छन् । चीनबाट पठाएका स्वास्थ्य सम्बन्धी सामग्रीहरु लिएर मुख्यमन्त्री र मन्त्री मंगलबार डोल्पा, हुम्ला र मुगुका लागि सुर्खेतबाट हेलिकोप्टरमा औषधि बोकेर गएका हुन् । विश्वमा महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ग्रामीण क्षेत्रमा औषधीको अभाव हुन नदिन स्वयंम आफुहरु औषधी लिएर जिल्ला पुगेको सामाजिक विकास मन्त्री रावलले बताए । अन्य जिल्लामा भने गाडी मार्फत सामाग्री पठाइएको जनाइएको छ ।
कर्णाली प्रदेशमा कोरोनो संक्रमणबाट बच्नका लागि प्रदेश सरकारले उच्च सतर्कताका साथ कामहरु गरिरहेको छ ।
प्रदेश सरकार र स्थानीय सरकारले यतिबेला विपद कोषको स्थापना गरि कोरोना विरुद्ध जुटेका छन् ।
प्रदेश तथा स्थानीय तहले क्वोनटाइन, आइसुलेसन स्थापना बनाउने र विदेशबाट आएका नागरिकहरुको तथ्याङ्क पनि संकलन गरेका छन् । कर्णाली प्रदेश सरकारले स्थापना गरेको ५० करोडको प्रदेश विपद् व्यवस्थापन कोषमा पनि दिनप्रतिदिन सहयोग जट्दै छ । प्रदेश सरकारको सहयोगमा र नेपाली सेनाले वीरेन्द्रनगरको खुलामञ्चमा चार सय बेडको क्वारेन्टाइनमा बाहिरबाट आएका नागरिकलाई राखिएको छ । यस्तै सिमा नाका र अन्य ठाउँमा अलपत्र परेका नागरिकलाई पनि उद्दार गरिरहेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोना नियन्त्रणको एक मात्रै उपाय सतर्कता भएकोले आफ्नो सुरक्षाका लागि आफैंले ध्यानदिनुपर्ने बेला भएको बताएका छन् । कोरोना विरुद्ध कर्णाली प्रदेश सरकारले स्रोत साधनले भ्याएसम्म तयारी गरेको बताए । उनले केही अप्ठ्यारो, समस्या भए स्थानीय सरकार र प्रदेश सरकारको सम्पर्कमा आउन अनुरोध गर्दै यो विषम परिस्थितिमा कोही पनि नागरिकलाई रोग, भोक र शोक हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
कर्णालीका निजी क्षेत्र र सामाजिक संघ संस्थासँग पनि प्रदेश सरकारले समन्वय गरेको सामाजिक विकास मन्त्री दल रावल बताउँछन् । कर्णालीमैं कोरोनाको परीक्षणका लागि केन्द्र सरकारको सहयोगमा ल्याव मंगलबार सुर्खेत ल्याईदै छ ।