बिहीबार, बैशाख २०, २०८१

वीरेन्द्रनगर बजार क्षेत्र ‘तार’ रहित बन्दै

  
कर्णाली टाइम्स मंगलबार, फागुन २७, २०७६
वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका अव्यवस्थित तारहरु

जगतदल जनाला विक

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रलाई ताररहित बनाइने भएको छ । दुर्घटनाको जोखिम र शहरलाई नै कुरुप बनाउने विद्युतका पोलमा झुण्ड्याइएका तारहरुलाई हटाएर अण्डर ग्राउण्ड (जमिनमुनि) बिछ्याउने योजना सहित काम सुरु गर्न लागिएको हो । पहिलो चरणमा मुख्य बजार क्षेत्र रहेको वीरेन्द्र्रनगर–६ भित्रका पुराना पोल हटाउने तथा तार जमीनमुनि बिछ्याउने नगरपालिकाले जनाएको छ । अव्यवस्थित बिजुलीका पोल र तारले गर्दा बजार क्षेत्रको सडक साँघुरो हुने गरेका कारण पनि दुर्घटनाको जोखिम बढेकोले यसलाई व्यवस्थित गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । चालु आर्थिक बर्षको अन्तिम अर्थात असारसम्म मुख्यम बजार क्षेत्रको पोल र तार हटाएर ताररहित क्षेत्र बनाईने उनले बताइन् । ‘बजार क्षेत्रका सडकहरु बिजुलीका पोल र तारहरुले साँघुर बनाएका छन्, यसले गर्दा दुर्घटनाको जोखिम पनि बढ्दो क्रममा छ,’ उपमेयर ढकालले भनिन्, ‘पछिल्लो समय बढ्दै गएको सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै शहरलाई सुन्द देखाउन पनि यो योजना हामीले अघि सारेका हौं ।’ वीरेन्द्रनगरको चालु आर्थिक बर्षको नगरसभाले यो योजनालाई ‘नगर महत्व’को योजनाका रुप्मा राखेको छ ।

सुरुमा मुख्य बजार क्षेत्रबाट यो योजना कार्यान्वयनका लागि अगाडि बढेको उपमेयर ढकालले बताईन् । ‘मानिसहरुको आवतजावत बजार क्षेत्रमा धेरै हुने भएकोले सडकको अवस्था साँघुरो छ, दुर्घटना पनि पछिल्लो समय धेरै हुने गरेका छन् ।’ उनले भनिन्, ‘दुर्घटना कम गर्नको लागि बजार क्षेत्रको सडकलाई विस्तार गर्न योबाहेक अरु विकल्प पनि छैन, यसकारण नगरपालिकाले पहल थालेको हो ।’ राष्ट्रिय योजना आयोगमार्फत नगपालिकाले यो योजनाको माग गरेपछि यसको आयोगले स्वीकृति दिएको थियो । नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीका अनुसार संघीय सरकारले दिएको समपुरक अनुदानको ४० प्रतिशत बजेट यो योजनामा खर्च गरिने छ भने बाँकी ६० प्रतिशत नगरपालिका आफैँले बेहोर्ने छ । यो योजना कार्यान्वयनका लागि चार करोड रुपैयाँ लागत लाग्ने उपमेयर ढकालले जानकारी दिईन् । यसको ठेक्का तत्कालै नेपाल विद्युत प्राधीकरणसँगको समन्वयमा आह्वान गरिने उनले बताईन् । मुख्य बजार क्षेत्रको व्यवस्थापनपछि क्रमसः अरु क्षेत्रमा पनि योजना अगाडि बढाइने ढकालले बताइन् ।