शुक्रबार, साउन ४, २०८१

पोशाकमै दैलेख पुगेका भारतीय प्रहरीले मागे माफी

  
कर्णाली टाइम्स मंगलबार, चैत्र ४, २०७६

फाइल तस्बिर

सुर्खेत । भारतको हरियाणा प्रदेशस्थित एक घरमा काम गर्ने कामदार चोरी गरी फरार भएपछि खोजी गर्दै पोशाकमा दैलेख पुगेका भारतीय प्रहरीले माफी मागेका छन् ।
उनीहरू सोमबार साँझ दैलेख पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार दैलेखका ती कामदारले भारतको हरियाणा प्रदेशस्थित एक घरमा परिवारलाई खानामा विष मिलाएर चोरी गरी भागेका थिए।
घरका ७ जना सदस्यलाई उनले खानामा विष मिलाएर बेहोस बनाएर घरबाट २५ लाख भारु चोरेर भागेका एक जनाको ठेगाना फरकरफरक भए पनि त्यसलाई निश्चित गर्न उनीहरू आएका साउदले जानकारी दिए ।
‘दैलेखको एक जनाले भारतमा काम गरिरहेको घरको परिवारका सदस्यलाई विष खुवाएर २५ लाख जति लिएर भागेको रहेछ,’ प्रहरी निरीक्षक साउदले भने, ‘उसको ठेगाना फरकरफरक भए पनि ठेगाना कन्फर्म गर्न उनीहरू यहाँ आएका हुन्।’
साउदका अनुसार प्रहरी नायब निरीक्षक विजय विवेकको कमाण्डमा अरु दुई जना जवान दैलेख आएका छन्।
पोशाक नै लगाएर आएकाले आफूले सम्झाएपछि उनीहरूले माफी मागेको प्रहरी निरीक्षक साउदले बताए।
साउदका अनुसार भारतीय प्रहरीसँग हरियाणा प्रदेशका एक जना स्थानीय समेत आएका छन् ।