मंगलबार, बैशाख १८, २०८१

भारत गएकालाई दश दिनभित्र फर्किन प्रदेश सरकारको आग्रह

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र ७, २०७६

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशबाट भारतका विभिन्न ठाउँमा मजदुरीका लागि गएकालाई दश दिनभित्र फर्कन आग्रह गरेको छ । कर्णालीमा कोरोनाको उच्च जोखिमबाट बच्नका लागि भारतबाट फर्किन आव्हान गरेको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार कोरोना भाईरस (कोभिड(१९) रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले भारतमा रोजगारीका लागि ं नेपालीहरुका लागि सरकारले तोकेको समयमा कर्णाली फर्किनुपर्ने सरकारकी प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकरी मन्त्री विमला केसीले बताइन् ।
भारतबाट फर्केर आउने नेपालीहरुलाई स्वास्थ्य जाँच गरि अनिवार्य क्वारेन्टाइनमा राखेर घर पठाइने तयारी गरिएको मन्त्री केसीले जानकारी दिइन् । ‘कर्णाली चिन र भारतसंग प्रत्यक्ष जोडिएको प्रदेश भएकोले पनि कोरोनाको संक्रमण हुने खतरा बढी छ । अझै कर्णालीबाट भारतामा रोजगारीमा जाने युवाहरुको संख्या पनि बढी भएकोले उनीहरुलाई फर्कन सरकारले आग्रह गरेको,’ मन्त्री केसीले भनिन्, ‘वीरेन्द्रनगरका एक हजार जनालाई विभिन्न स्थानमा क्वारेन्टाइन बनाएर राख्ने छौं ।’

उनका अनुसार कोरोनाको प्रकोप सम्बन्धी व्यवस्थापनका लागि बैठबाट मन्त्रीहरुको संयोजकत्वमा विभिन्न समितिहरु पनि गठन गरिएको छ । कोरोनाको व्यवस्थापनका लागि कार्यान्वयन समितिमा सामाजिक विकास मन्त्री दल रावल, कानून मन्त्री नरेश भण्डारीको अध्यक्षतामा अनुगमन समिति र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको अध्यक्षतामा आपूर्ति समिति गठन गरिएको हो ।