आइतवार, मंसिर ३०, २०८१

कोरोनाबाट बच्न कर्णालीमा उच्च सतर्कता, एक हजार क्वारेन्टाइन र हेलिकप्टर उद्दार

  
कर्णाली टाइम्स शनिबार, चैत्र ८, २०७६


जगतदल जनाला विक

सुर्खेत । कोरोना भाइरस (कोभिड१९)को सम्भावित जोखिमको बाट बच्नका लागि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ । त्यसका लागि एक हजार क्वारेन्टाइन स्थापनाको काम अगाडी बढाइएको छ ।
प्रदेशका हिमाली तथा पहाडी जिल्लामा कोरोनाको कारण कुनै बिरामीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था आएमा हेलिकोप्टर पनि प्रयोग गरिने तयार सरकारले गरेको छ । जुनसुकै अवस्थामा उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने बताइएको छ ।
कोरोना भाइरसको प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा एक हजार क्वारेन्टाइन निर्माण गर्न थालेको छ ।
शुक्रवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले क्वारेन्टाइन स्थापनाको निर्णय र विपद् व्यवस्थापनका लागि ५० करोडको कोष तयारी गरी सोही कोषबाट खर्च व्यवस्था मिलाइने प्रदेश सरकारकी प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । त्यस्तै, कर्णाली प्रदेश प्रवेश गर्ने हवाई तथा स्थलमार्गका नाकामा उच्च सतर्कता अपनाई त्यस्ता नाकाबाट नेपाली नागरिकलाई मात्र प्रवेश गर्न दिने लगायतका १४ निर्णय प्रदेश सरकारले गरेको छ । ‘भैपरी आउने जोखिमका लागि हामीले पर्व तयारीहरु गरिहेकाछौं,’ मन्त्री केसीले भनिन्, ‘वीरेन्द्रनगरमा मात्र एक हजार क्वारेन्टाइनहरु निर्माण सुरु भइसकेका छन् । आवश्यकता अनुसार चाहिने स्थिति भइपछि निजिक्षेत्रहरु (होटेल) संग सहकार्य पनि भइरहेको छ ।’
मन्त्री केसीका अनुसार टाढाबाट तापक्रम नाप्ने थर्मल गन १३ वटा छन् । रथप एक सय वटा मगाइएका छन् । विदेशी नागरिकलाई पनि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतिले मात्र प्रवेश गर्न दिने र त्यसरी प्रवेश गर्ने व्यक्तिलाई प्रदेशको क्वारेन्टाइनमा कम्तीमा १४ दिन अनिवार्य राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
जोखिमलाई ध्यानमा राखी अत्याआवश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने, स्वास्थ्य सचेतनासम्बन्धी जनहितका सूचना तथा सामग्री प्रदेशभित्रका सबै एफएम रेडियो, टिभी च्यानल तथा छापा माध्यमलाई प्रयोग गरी प्रकाशन÷प्रसारण गर्ने गराउने पनि प्रदेश सकाले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
सीमा जोडिएका नाकामा स्यानेटाइजर, मास्क, थर्मोमिटरसमेतका सामग्रीको सहजरुपमा व्यवस्थापन गर्ने कार्यका लागि सामुदायिक संघसंस्थालगायतका सबै पक्षको संयुक्त संलग्नतामा स्वास्थ्य अवस्थाको निगरानी, प्रयोगशाला क्षमता विस्तार गर्ने, सक्रमित देखिएमा प्राथमिक उपचारको तत्काल प्रबन्ध गर्ने, अस्पतालको प्रक्षेपण, आइसोलेसन वार्डको तयारी र क्वारेन्टाइनस्थलको तत्काल चयन गर्ने व्यवस्था गर्ने गराउने भएको छ ।
भारतमा रहेका कर्णाली प्रदेशमा फर्किएका नागरिकलाई सीमानाकाबाट यातायात प्रबन्ध गरी क्वारेन्टाइनमा राखेर मात्र घरसम्म पु¬¬¥याउने तयारी थालिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारीका अनुसार कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा जिल्ला स्वास्थ्य सेवा कार्यालयहरु मार्फत जिल्ला अस्पतालमा आपतकालिनका लागि आइसुलेसन बेडहरु तयार गरिएका छन् । क्वारेनटाइन र आइसुलेसन बेडका लागि स्थानीय तह र प्रदेश सरकार संगको समन्वयमा सुविधा सम्मपन्न आइसुलेसन बेड र क्वारेन्टाइन व्यवस्था गरिएको निर्देशक भण्डारीले बताइन् । ‘प्रदेश अस्पतालमा ५ वटा बेडरुम आइसुलेसन, १५ वार्डमा क्वारेन्टाइन बेड, ५ वटा इमरजेन्सी बेड र अन्य बेडगरी ३० वटा सुविधा सम्पन्न बेडहरु राखिएका छन्,’ भण्डारीले भनिन्, ‘लक्षण अनुसारका औषधीहरुको पनि तयारी पुरा भएको छ ।’
त्यसैगरी, राति १० बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स सेवा, बारुणयन्त्र, सुरक्षा, स्वास्थ्य संस्थाका सवारीसाधन, शवबाहन, सरकारी निकायका चारपाङ्ग्रे सवारी साधनबाहेक अन्य निजी तथा भाडाका सवारी साधनले सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई चलाउन पाउने, सुरक्षा निकायको सतर्कता २४ सैं घण्टा रहने व्यवस्था गर्ने सार्वजनिकस्थलको सरसफाइमा विशेष ध्यान दिनेमा प्रदेश सरकार एक्सनमा जाने प्रवक्ता केसीले बताइन् ।

४५ हजारको परीक्षण, तापक्रम नाप्ने थर्मल गनको अभाव

प्रदेश सरकारले कर्णालीका विभिन्न सञ्चालन गरेका ‘हेल्थ डेस्क’ मा ४५ हजार नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा रहेका हेल्थ डेस्कमा दैनिक पाच हजार जनाले स्वास्थ्य परीक्षण गराएपनि तापक्रम र भाईरस सम्बन्धी मापन गर्ने थर्मल गन भने प्रदेशभरी १३ वटा मात्रै रहेका छन् । सुर्खेतको विमानस्था, बबई, कुइने, सल्यानको कपुरकोट, हुम्ला विमान स्थल र हुम्लाकै एल्वाङमा हेल्थ डेक्सहरु स्थापना गरिएका छन् । सामाजिक विकास मन्त्री दल रावलले प्रदेशमा तापक्रम जाँच गर्ने ‘थर्मल गन’को कमी भएकोले तत्काल एक सय वटा ‘थर्मल गन’ खरिद गर्न पठाइएको बताए । कोरोनो संक्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा हेल्थ डेक्सका कर्मचारीलाई समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुको गुनासो छ । ज्वरो नाप्न स्वास्थ्यकर्मीको सङ्ख्या अनुसार ‘थर्मल गन’ भए स्वास्थ्य परीक्षण छिटो छरितो हुने हेल्थ डेक्समा कार्यरत एक कर्मचारीले बताए ।