सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासको झ्याल फोडेर थुनुवा भागेपछि त्यसको छानबिन गर्न समिति गठन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
प्रहरी उपरीक्षक भोला रावलको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएका छ ।
छानबिन समितिको सदस्यहरूमा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, प्रहरी निरीक्षक सुरज खड्का, प्रहरी नायब निरीक्षक अमर रावत र प्रहरी सहायक निरीक्षक प्रेम शर्मा रहेका छन् ।
प्रहरीका कार्यालयका अनुसार पाँच दिनभित्र यसबारे प्रतिवेदन बुझाइसक्न निर्देशन जारी गरिएको छ ।
बिहीबार बिहान १ बजेतिर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट तीन जना थुनुवा झ्याल उप्काएर भागेका छन् । वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु हिरासतको झ्याल उप्काएर भागेका हुन् ।
उनीहरूको खोजी कार्य तिब्र पारेपनि हालसम्म उनीहरु फेला नपरेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।
हिरासतबाट भागेका तीनैजना लागुऔषध ओसारपसार तथा कारोबार अभियोगमा पक्राउ परेका थिए। कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने सुनिल थारु चैत १६ गते पक्राउ परेका थिए। रेग्मी २०७६ साउन १६ गते पक्राउ परेका थिए ।
थुनुवा भागेको प्रहरीले बिहान मात्र थाहा पाएको थियो ।
कर्णाली टाइम्स
बिहीबार, चैत्र २०, २०७६