आइतवार, असार ३, २०८१

सुर्खेतका बाढीपीडितले पाए खाद्यान्न

  
कर्णाली टाइम्स शनिबार, चैत्र २२, २०७६


जगतदल जनाला विक
सुर्खेत । कोरोनाको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खाद्य समस्या भोगिरहेका सुर्खेतका बाढीपीडितहरुलाई खाद्यान्न वितरण गरिएको छ ।
बाढीपीडितहरुका लागि सुर्खेत समाज दक्षिण कोरियाले पठाएको ५० हजार मध्येबाट शुक्रबार भेरीगंगा नगरपालिका–१२ को हटारुखोला र छिन्चुमा रहेका १७ बाढीपीडितका साथै सत्तरीमा रहेका छ परिवार राउटेलाई खाद्यान्न वितरण गरिएको छ ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बाढीपीडितहरु समस्यामा भएका बेला विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा रकम संकलन गरि खाद्यान्न वितरण गरिएको हो ।
‘दिनभर गिट्टी कुटेर विहान–बेलुकाको छाक टार्ने गथ्यौं यो लकडाउनका कारण न काम भयो नत खाद्यान्न,’ बाढीपीडित कमला सुनारले भनिन, यो खाद्यान्नले अब हामी भोको मर्नु पर्दैन ।
यस्तै शनिबार सुर्खेतस्थित गिरीघाटमा बसिरहेका ९० घरपरिवार बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको छ । उनीहरुलाई प्रति परिवार एक÷एक बोरा चामल, पिठो, एक÷एक प्याकेट नुन र साबुन दिइएको हो ।
२०७१ सालमा सुर्खेतका विभिन्न ठाउँमा आएको बाढीका कारण विस्थापितहरु विभिन्न ठाउँका अस्थायी शिविरमा बसिरहेका छन् । सुर्खेतका एक हजार ४५ परिवार अहिले पनि विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका छन् । दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने बाढीपीडितका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरिरहेका छन् ।
यस अघि शुक्रवार पनि भेरीगंगा नगरपालिकास्थित शिविरमा बसिरहेका बाढीपीडितहरुलाई राहत वितरण गरिएको छ । नागरिक दैनिकमा कार्यरत पत्रकार नगेन्द्र उपाध्यायको अगुवाईमा बाढीपीडितका लागि राहत संकलनअन्तर्गत विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।
हालसम्म एक सय १३ जना बाढीपीडितलाई खाद्यन्न वितरण गरिएको छ ।