शनिबार, भदौ २९, २०८१

किन गए दशगजामा स्वास्थ्य राज्यमन्त्री रावत ?

  
कर्णाली टाइम्स मंगलबार, चैत्र २५, २०७६

सुर्खेत । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेपाल भारत सिमास्थित दशगजामा निर्माण गरीएको क्वारेन्टाईनको स्थलगत अनुगमन गरेका छन । मंगलबार गृहजिल्ला सुर्खेत आउने क्रममा मन्त्री रावत दशगजा पुगेका हुन । भारतबाट फर्किएका नेपालीहरुबाट कोरोना संक्रमण फैलनसक्ने सम्भावना रहेको भन्दै केही दिन पहिले दशगजा क्षेत्रमै क्वारेन्टाईन स्थापना गरिएको थियो। क्वारेन्टाईनमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका साथै भौतिक पुर्वाधारको अनुगमन गर्दै मन्त्री रावतले कोरोनाप्रति सजग हुन सबैलाई निर्देशन दिएका छन ।

क्वारेन्टाईनमा बस्दै आएका ब्यक्तिहरुको नियमित स्वास्थ्य जाँच, अत्यावश्यक सामग्रीको उपलब्धता र सरसफाईमा बिशेष ध्यान दिन मन्त्री रावतले निर्देशन दिएका हुन । साथै क्वारेन्टाईनमा बसेकाहरुलाई सरकारले अबलम्बन गरेको नितिको पूर्ण पालना गरी कोरोना बिरुद्धको अभियानमा साथ दिन समेत आग्रह गरे ।

नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरीसकेको बताउँदै स्वास्थ्य राज्य मन्त्री रावतले लकडाउन अवधिभर घरभित्रै बसेर सरकारलाई सहयोग गर्न सबैलाई आह्वान समेत गरेका छन । उनले अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमणको दर न्युन भएपनि सबै सचेत हुन आवश्यक रहेको बताए ।

मन्त्री रावतसँगै प्रदेश सभा सदस्य आईपी खरेल, नेकपा बाँकेका नेता निरक गुरुङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि, भेरी अस्पतालका निमित्त मेसु डा प्रकाश थापा, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले दशगजा क्षेत्रमा रहेको क्वारेन्टाईनको स्थलगत अनुगमन गरेका थिए ।