शुक्रबार, असोज २५, २०८१

वीरेन्द्रनगरमा क्वारेन्टाइन बसेका नागरिक खुसी हुँदै घर फर्किए

  
कर्णाली टाइम्स शनिबार, चैत्र २९, २०७६


जगतदल जनाला विक
सुर्खेत । वीरेन्द्रनगरमा क्वारेन्टाइनमा बस्दै आएका नागरिक खुसी हुँदै शनिबार घर फकिएका छन् । कर्णाली प्रदेश सरकारको सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्रनगर स्थित खुलामञ्चका क्वारेन्टाइनमा बसेका एक सय ८८ जना मध्ये एक सय ८३ जनाको स्वाबको रिपोर्टमा नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । उनका अनुसार ५ जनाको नमुना फेरि पठाइएकोले शनिबार साँझसम्मे रिपोर्ट आएपनि उनीहरुलाई पनि घर पठाइने छ ।
क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले सुर्खेतका १७ जनालाई शुक्रबार घरतिर पठाइसकिएको र अन्यलाई शनिबार साँझसम्म पठाइसक्ने जानकारी दिए । खुलामञ्चमा ४ सय व्यक्ति अटाउने क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा चैत १५ देखि मान्छे बसालिएको थिया े। त्यसअघि ती व्यक्तिहरु करिब चार दिन ती व्यक्तिहरु वीरेन्द्रनगरको होटल, विद्यालय र गैरसरकारी संस्थाको होस्टेलमा बसेका थिए । सुर्खेत्का ५७, दैलेखका ८७, कालिकोटका७, जाजरकोटका २०, जुम्लाका १६ र अछामका १ जना गरि एक सय ८८ जना क्वारेन्टाइनमा बसेका थिए ।
क्वारेन्टाइनमा बस्न थालेको १९ दिनपछि घर फर्किन लागेको क्वारेन्टाइनबाट फर्किन लागेका धन बहादुर नेपालीले बताए । उनले यहाँ बस्दा राम्रो र ढुक्क भएकोले अन्य बाहिरबाट आउने नागरिकले पनि क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाई छ ।
भारतबाट आउँदा अलपत्र परेका बेला आफुहरुलाई सुरक्षित र सुविधाका साथ राखेकोमा धन्यवाद दिंदै चौकुने गाउँपालिका –७ का केशव विकले पहिला क्वारेन्टाइन भनेको जेल जस्तो भन्ने सुनिएपनि हाम्रै सुरक्षाका लागि रहेछ भन्ने महशुस भएको बताए ।
दैलेख दुल्लु नगरपालिकाकी बिष्ना बिष्टले अप्ठारोमा परेका बेला सरकारले उद्दार गरि क्वारेन्टाइनमा राखेर सुरक्षित भएको बताइन् । अब ढुक्कले घरमा गइ होम क्वारेन्टाइनमा बस्ने उनले बताइन् ।


वीरेन्द्रनगर क्वारेन्टाइनका एकसय ८८ बाहेक सुर्खेतमा प्रयोगशाला स्थापना भएपछि एकसय १४ र काठमाडौंमा परीक्षण गरिएका ३१ जनाको गरी कुल एकसय ४५ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ ।
कोरोना परीक्षणका लागि कर्णालीका पाँच सय ८६ जनाको नमूना काठमाडौं पठाइएको छ । गत मंगलबार पाँच सय एक र शुक्रवार ८५ वटास्याम्पल काठमाडौं पठाइएको हो ।