शुक्रबार, बैशाख २१, २०८१

कर्णालीको कोरोना कोषमा डेढ करोड जम्मा, कसले कति गरे सहयोग ?

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण विपद कोषमा हालसम्म नगद तथा जिन्सी गरी करिब १ करोड ४७ लाख रुपैयाँ जम्मा भएको छ । प्रदेश सरकार स्वयंले भने उक्त कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेवसाइटमा राखिएको विवरण अनुसार विभिन्न बैंक तथा वित्तीय संस्था, व्यक्ति र निकायले १ करोड १६ लाख रुपैयाँ जम्मा गरेका छन् । नेपाल उद्योग परिसंघले ८ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको पनि वेवसाइटमा उल्लेख छ ।


आज मंगलबार थप २३ लाख रुपैयाँ जम्मा भएको छ । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले १३ लाख रुपैयाँ र सानिमा विकास बैंकले १० लाख जम्मा गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सानिमा विकास बैैंकको कर्णाली प्रदेश कार्यालयले १० लाख रुपैयाँको चेक मुख्यमन्त्रीलाई बुझाएको जनाएको छ ।


त्यस्तै, महासंघले प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली सरकारले विपद व्यवस्थापन कोषमा सहयोग गर्न गरेको आह्वान गरेबमोजिम रकम जम्मा गरिएको जनाएको छ । महासंघका अध्यक्ष मोहन आचार्यका अनुसार चैत ३० गते रकम जम्मा गरी सोमबार भौचर बुझाइएको हो ।