सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस (कोभीड–१९) बारे भ्रम फैलाउने दुई जना युवालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई मंगलबार साँझ र दैलेख भगवतीमाई गाउँपालका घर भइ लेकवेशी नगरपालिका ससुरालीमा आएका प्रेम विकलाई बुधबार विहान पक्राउ गरेको छ । आचार्यले मंगलबार आफ्नो फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना पुष्टी हुन बाँकी’ भनेर लेखेका थिए । यस्तै विकले ‘सुर्खेतको लेकवेसीवडा नम्वर–१ मा पनि एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ’ भनेर भ्रामक पोष्ट गरेका थिए । झुटो प्रचार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपरीक्षक दिल्ली राज पन्तले उनीहरु दबैलाई थप अनुसन्धान गरि सार्वजनिक अभद्र व्यवहार मुद्धा चलाइने बताए । ‘उनीहरुलाई सार्वजनिक रुपमा अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाइने छ,’ उपरीक्षक पन्तले भने, उनीहरु माथि हामीले थप अनुसन्धान गरिरहेका छौं ।’
कर्णाली प्रदेशमा हालसम्म कोही पनि कोरोना संक्रमित नरहेको र त्यस्ता झुटा हल्लला नफैलाउन प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका ल्याव इन्चार्ज ओम आचार्यले अनुरोध गरे ।