आइतवार, मंसिर ३०, २०८१

सुर्खेतमा मानवअधिकार हनन हुन नदिन ५ सदस्यीय अनुगमन समिति

  
कर्णाली टाइम्स शनिबार, बैशाख ६, २०७७

सुर्खेत । जिल्लामा राज्य पक्ष विशेषगरी प्रहरीबाट मानव अधिकारको नागरिक अधिकार हनन भइरहेको समाचार दिन प्रतिदिन निरन्तर आउन थालेपछि सुर्खेतका अधिकारकर्मीहरुले अनुगमन समिति गठन गरेका छन् ।

शनिबार नेपाल वार एशोसियसन सुर्खेतका अध्यक्ष नन्द भण्डारीको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यीय समिति गठन गरेको छ । ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि सरकारले लकडाउन गरेको बेला जिल्लामा नागरिकको अधिकारहरु हनन भइरहेको छ । त्यसैको अनुगमन गर्नका लागि जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरेका छौं ।’ नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले भने ।
बैठकमा, वारका जिल्ला अध्यक्ष नन्द भण्डारी, पत्रकार महांसघका जिल्ला अध्यक्ष गणेशकञ्चन भारती र गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीको सहभागिता थियो ।
बैठकले अधिकारकर्मी खिमबहादुर रेग्मी र अधिवक्ता रमा प्याकुरेललाई सदस्यमा मनोनित गरेको छ ।
समितिले विभिन्न दश कार्यको अनुगमन गर्ने भएको छ । जसमा कोभिड –१९ को सन्दर्भमा जिल्लाबाट भइरहेको सरकारको कामको अवस्था, जीवनको अधिकार, विरामीको उपचार, स्वास्थ्य सामाग्री औषधीको उपलब्धता, सरकारी तथा नीजि स्वास्थ्य संस्थाको भूमिका, कोरोना सम्वन्धि क्रियाकलापहरु, विपन्न वर्गको जीवन यापन, राहत वितरण, र उपभोक्ताको धिकार, नागरिकको न्याय प्रशासनमा पहुँच, आवतजावतमा परेको समस्या, सिमामा पुगेका जिल्ला वासीको समस्या, सञ्चारमाध्यमको भूमिका, सामाजिक सञ्जालको प्रयोग, अभिव्यक्ति स्वतन्त्रता, नागरिक कर्तब्य र सचेतना, नागरिक समाज र मानवअधिकारकर्मीको भूमिका, कोभिड १९ र लकडाउनका कारण प्रभावित अन्य अधिकारको अवस्थाबारेमा अनुगमन गर्ने तथा रिपोर्टिंग गर्ने बताइएको छ ।