सुर्खेत । सिन्धुपाल्चोकदेखि बस चढेको करिब २४ घण्टा बित्यो । न खाना खान पाइएको छ, न त पानी पिउन । तैपनि बसयात्राको पीडा उनीहरुलाई सामान्य लागेको थियो । किन कि त्योभन्दा ठूलो पीडा उनीहरुले सिन्धुपाल्चोकमा खेपिसकेका थिए । लकडाउन भएको केही दिनसम्म खान, बस्नको खासै समस्या भएन । दुई सातायता भने खाना खान नपाएर मरिन्छ कि भन्ने त्रास हुन थालेको थियो । एक पोका चाउचाउले दुई दिन बिताउनुपर्ने अवस्था आइलागेको थियो ।
यही पीडाबीच स्थानीय तह र प्रदेश सरकारको समन्वयमा उनीहरुलाई उद्दार गरेर मंगलबार राति १२ बजे सुर्खेत पु¥याइयो । सुर्खेत प्रवेश गरेपछि भने पीडामाथि पीडा थपियो । जुम्लाको लागि हिँडेका उनीहरुलाई प्रहरीले बसभित्रै ‘बन्दी’ बनायो । बसपार्क नजिकैको होटलमा खाना पाकेको छ, तर ‘माथिको आदेश’ भन्दै प्रहरीले बाहिर निस्किन दिएको छैन । उद्दारमा समन्वय गरेका जुम्लाका प्रेम बिसीले प्रहरीसँग निकै अनुनय गरे । दुईटा प्रहरी भ्यानको कमाण्ड गरेका दुबैजना असईले कुरा सुन्नुको साटो उल्टै पिटौंला झैं गर्न थाले । बिसीले ‘खाना खान नदिने भए जुम्लाको लागि जान दिनुहोस्’ भनेर निकै बेरसम्म अनुरोध गरे । सिन्धुपाल्चोकबाट आएका बस जुम्ला जान नसक्ने भएकोले जुम्लाको लागि दुईवटा बस तयारी अवस्थामा राखिएका थिए । उक्त अनुरोधको पनि कुनै सुनुवाइ भएन । ‘बाटोमा पर्ने तीनवटा प्रदेशमा निकै सहज भयो, कसैले रोकटोक गरेनन्, आफ्नै प्रदेशमा आउँदा यस्तो व्यवहार किन ?’ बसभित्र रहेका मजदुरले यो कुरा बसभित्र आफू–आफूबीच मात्र भने । प्रहरीलाई भन्नसक्ने अवस्था थिएन । त्यति गर्दासम्म रातको करिब साढे १ बजिसकेको थियो । प्रेमले सुर्खेतका एसपी र सिडियोलाई पनि फोन घुमाए । तर, त्यति राति उनीहरुको फोन उठ्ने कुरै भएन ।
त्यहीबीच उनलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको याद आयो । सुरुमा त यति राति किन फोन गर्ने भनेर डराएका उनलाई फोन गर्नुको बिकल्प पनि थिएन । फोन गरे । उठ्यो । मन्त्री भण्डारीले तुरुन्तै ‘रेस्पोन्स’ गरे । उनले प्रदेश प्रहरीलाई समस्या समाधानको लागि निर्देशनमात्र दिएनन्, १५ मिनेटमा आफैं बसपार्क पुगे ।
यति राति एक्कासि मन्त्री आफै बसपार्क पुग्दा सुरूमा न त प्रहरीले पत्यायो, न त बसभित्र बन्दी बनाइएका मजदुरले पत्याए । मन्त्रीले सालिन ढंगले समस्याबारे बुझे । सुरुमा ‘माथिको आदेश’ भन्दै मजदुरलाई बसभित्रै बन्दी बनाएका असईले बोली फेरे । उनले ‘रातिको समयमा मजदुरको सुरक्षाको लागि’ आफुले बाहिर निस्किन नदिएको बताए । त्यति बेलासम्म मजदुरमाथि दुव्र्यवहार गर्ने अर्को प्रहरी भ्यानका असई हिँडिसकेका थिए ।
मन्त्रीले प्रहरीको कारण पाएको दुःखप्रति मजदुरसँग माफीमात्र मागेनन्, त्यहाँ रहेका प्रहरीलाई सम्झाईबुझाई पनि गरे । मन्त्रीसँग बसभित्र रहेका मजदुरले प्रहरीको व्यवहारप्रति गुनासो गरे । बबईमा रहेका असईले गरेको दुव्र्यवहार तथा दिएको दुःख पनि सुनाए ।
प्रेमले करिब ९ बजे सुर्खेत पुगिन्छ भनेर बसपार्क नजिकैको होटलमा खाना बनाउन अर्डर गरेका थिए । सोही योजनाअनुसार दुईटा बस समयमै बबई नाकामा पुगिसकेका थिए । यता वीरेन्द्रनगरमा खाना पनि तयारी अवस्थामा थियो । तर, प्रहरीसँगको लफडामा परेर खाना बासी भइसकेको थियो । मन्त्री भण्डारीको सहजीकरणमा बल्ल राति करिब साढे २ बजे मजदुरले खाना खान पाउने भए । मजदुरहरु खाना खाएर गन्तव्यमा जाने बाटो पनि खुल्यो । मन्त्री भण्डारीले मजदुरसँग छुट्ने बेला भने, ‘तपाइँ–हामी सबै कोरोनाको लडाइँमा छौं, जिल्लामा पुगेपछि सावधान भएर क्वारेन्टाइनमा बस्नुहोला । सचेत हुनुहोला ।’
मन्त्री भण्डारीको व्यवहारबाट मजदुरहरु आश्चर्यचकित मात्र होइन, निकै खुसी देखिन्थे । उनीहरुको मुहारमा देखिएको खुसीले सारा दुःख भुलाएको स्पष्ट हुन्थ्यो । मजदुरसँगै आएकी जुम्ला, हिमा गाउँपालिकाकी स्थायी बासिन्दा भई हाल सुर्खेतमा बसोबास गर्ने सुनिता बिसीले भनिन्, ‘नेताले भाषण गर्दा जनताका सेवक हौं भन्थे, व्यवहारमा पहिलोपटक आज देख्न पाइयो ।’