बुधबार, बैशाख १९, २०८१

सिडियोहरुसंगको भिडियो कन्फ्रेन्समा मुख्यमन्त्री शाहीले भने,‘जोखिममा रहेका नागरिकको उद्दार गर्नु सरकारको दायित्व हो’

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ११, २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश भित्र र बाहिर जोखिममा रहेका नागरिकको उद्दार गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
मुख्यमन्त्री शाहीले बिहीबार कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंगको भिडियो कन्फ्रेन्समा यस्तो बताएका हुन् ।
उनले भिडियो कन्फ्रेन्समा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका काम, तयारी र प्रयासहरुको बारेमा जानकारी लिएका छन् ।

‘जोखिममा रहेका नागरिकको उद्दार गर्नु सरकारको प्रमुख दायित्व हो,’ मुख्यमन्त्री शाहीले भने, ‘संक्रमण फैलिन नदिन सबै तहका सरकार र निकायले उच्च सावधानी एवं सतर्कता अपनाउनु पर्ने बेला छ ।’
अरु देशका सरकारले दुई चार जनाको लागि भएपनि जहाजै रिजर्भ गरेर स्वदेश फर्काएको उदाहरण दिंदै मुख्यमन्त्री शाहीले आफुहरुले समस्यामा परेका नागरिकलाई किन गाउँ फर्काइएको भनेर विवाद गर्नु गलत भएको बताए ।

लकडाउनले दैनिकी कष्टकर वनेका कारण उद्धार गरि गाउँ फर्काईएका मजदुर, विद्यार्थी लगायतका सवै नागरिकहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन भिडियो कन्फ्रेन्स मार्फत मुख्यमन्त्री शाहीले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

नागरिकहरु कार्यस्थल तथा डेरामा भोकभोकै हुने र उनीहरुको व्यवस्थापन पनि नगर्ने अवस्थाले राज्यप्रति नै वितृष्णा पैदा हुने भएकोले अति समस्यामा रहेका र प्रदेशको सिमा सम्म हिडदै आईपुगेका नागरिकहरुलाई स्थानीय तहसंगको सहकार्यमा सम्बन्धित स्थानीय तहसम्म पुरयाउन सहजीकरण गरिएको मुख्यमन्त्रीले सिडियोहरुलाई जानकारी गराएका थिए ।
उनलेले सामाजिक दुरी कायम गर्दै एक घरका परिवार मात्रै सहभागि हुनेगरि किसानहरुलाई मौसमी बाली भित्र्याउने, ब्याड राख्ने लगायतका कृषि कार्य गर्न दिने व्यवस्था मिलाउन पनि प्रमुख जिल्ला अधिकारी मार्फत जानकारी गराएका छन् ।
त्यसैगरि मेशिन र कम जनशक्तिको प्रयोगबाट हुनसक्ने विकास निर्माणका कामहरुलाई पनि निरन्तरता दिन जिल्ला प्रशासनले व्यवस्थापन गनुपर्ने बताएका छन् ।

कोरोना भाईरस (कोभिड–१९)को संक्रमण प्रति अलिकति पनि लापरवाही हुन नहुने बताउदै मुख्यमन्त्री शाहीले लकडाउनलाई क्षेत्रगत रुपमा कडाई गर्नुपर्नेमा जोड दिए । एक टोलवाट अर्को टोल, एक स्थानीय तहवाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवागमनलाई कडाई गर्न प्रशासनको योगदान रहने बताए ।
मुख्यमन्त्री शाहीले नागरिकको जीवन रक्षाको दायित्व सरकारको भएकोले सरकारका सबै निकायहरुसंग सहकार्य गर्दै कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको काममा गम्भिरतापुर्वक लाग्न आग्रह गरेका छन् ।

प्रदेश सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका लागि स्थानीय तहका लागि आवश्यक वजेट, स्वास्थ्य सामगी्र तथा अत्यावश्यक खाद्यवस्तुको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भिडियो कन्फ्रेन्समा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाँण्डे र कर्णाली प्रदेश अन्तरगतका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको थियो ।