आइतवार, चैत्र ९, २०८१

चौकुनेले उद्दार गरी ल्याएका नागरिकलाई तेल खर्च भनेर तिराईयो २० हजार रुपैयाँ

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख १२, २०७७
चौकुने गाउँपालिकाले उद्दार गर्नका झापा र मोरङका लागि पठाएका भे १ ज १०३४ र बा ५ ख १७४१ नम्वरका दुईवटा गाडी ।

जगतदल जनाला विक
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले झापा र मोरङबाट उद्दार गरि ल्याएका नागरिकलाई २० हजार रुपैयाँ तिराएको छ ।
गाउँपालिकाले बैशाख ४ गते बिहीबार झापा र मोरङबाट उद्दार गरि ल्याएका ३१ जना नागरिकले तेल खर्चबापत व्यक्तिगतरुपमा उक्त रकम तिराइएको हो ।
लकडाउनका कारण घर आउन नपाएका आफ्ना नागरिकहरूलाई उद्दार गरी घर पु¥याउने उद्देश्यले गाउँपालिकाले दैनिक सात हजार रुपैयाँ गाडी र स्टाफलाई खाना नास्ता खर्चमा सम्झौता गरि भे १ ज१०३४ नम्वरको लिलाराम अधिकारीको र बा ५ ख १७४१ नम्वरको जगत थापाका दुईवटा हाइस पठाएको थियो ।

‘३१ जनाको दुइवटा गु्रप थियो हाम्रो ग्रुपमा पाँच जना झापाबाट थियौं गाडीवालाले आधा पैसा तपाईंहरु दिनुस् अधा अर्को टिमले दिन्छ भनेर भन्नु भयो तर हामीले भन्यौ गाउँपालिकाले पठाएको गाडीमा किन भाडा तिर्ने भनेपछि उल्ठै हामीलाई झपारे,’ गाडीमा सवार चौकुने गाउँपालिका–१० कुमालाका भुवन देवकोटाले भने, ‘यहि अलपत्र पर्नुभन्दा बरु त्यो पैसा दिन्छौं भनेपछि उहाँहरुले ल्याउनु भयो तर बाटोमा जहाँ तेल हाल्यो त्यहिं पैसा माग्दै, नत्र यहि छोडिदिन्छौ भनेर धम्काएपछि आठ हजार पाँच सय दियौं ।’

‘गाडी साहुले त्यति भनेपछि हामीसँग भएका बुढापाका नागरिकले डाइभरसँग धेरै बोल्नुहुन्न गाडी पल्टाएर मारिदिन्छन् भनेपछि हामी जति ठाउँ उनीहरुले पैसा मागे त्यति ठाउँ भएजति पैसा दियौं,’ नाम नबताउने सर्तमा एकजना सवार यात्रुले भने,
जहाँनिर पैसा माथ्यो त्यहाँनिर दिनुपर्ने नत्र यहि छोडिदिन्छौ भनेपछि डरले पनि हामीसँग भएको ११ हजार ५ सय दियौं ।’

भारतको बिहारमा काम गर्न गएका ३१ जना मध्ये २० जना चौकुने गाउँपालिका नागरिक थिए । बाँकी आठबिस नगरपालिकाका दैलेखका २ जना, पञ्चपुरी नगरपालिका सुर्खेतका १ जना, कैलालीका ६ जना र जाजरकोटका २ जना रहेका थिए ।

‘उहाँहरू लकडाउनका कारण भारतबाट सीमामा रहेका जिल्लामा मात्र आउन सक्नुभएको थियो, उहाँहरुले फोन गरेर आफै गाडी पठाइदिन प¥यो तेल हामी दिन्छौं भनेर उनीहरुले भनेपछि हामीले दुईवटा गाडी रिजर्व गरि पठाएका हौं,’ गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले भने, त्यहि अनुसार बाटोमा तेल हाल्ने पैसा नभएपछि सम्झौता अनुसार नै गाडी साहुले उनीहरुबाट पैसा मागेर तेल हालेका हुन् ।’
अध्यक्ष शाहीका अनुसार गाडी साहुले पनि उनीहरुले तिरेको पैसा कटाएर गाउँपालिकामा बिल पठाएका छन् ।
झापा र मोरङबाट ल्याइएका सबै नागरिक क्वारेन्टाइनमा बसी ¥यापिट टेष्ट रिपोर्ट नेगेटिभ आएपछि छोडिएको हो ।