सुर्खेत । कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण आफुले बनाएका काठका सामग्री बिक्रि हुन छोडेपछि राउटेले ‘बन्द कहिले खुल्छ ’ भनेर सरोकारवालाहरुलाई सोध्ने गरेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका–२, स्थित छिन्चु खोला किनारमा बस्दै आएका राउटे समुदायले लकडाउनलाई बन्द भन्ने गरेका छन् ।
लकडाउनका कारण आफुहरुले बनाएका सामग्रीहरु बिक्न छोडेको राउटे युवा सूर्यनारायण शाहीले बताए । काठबाट बनाइएका कोसी, मधुश, आरी र खाट लगायतका सामग्रीहरु विभिन्न गाउँ तथा बजारहरुमा पुगेर अन्नसंग सामान साटन नपाएपछि समस्या भएको शाहीको भनाई ।
जंगली जनावरको सिकार गर्ने, जंगलमा पाइने कुकाठबाट बनाइएका यी सामग्रीहरु बेचेरै जिविका चलाउनु उनीहरुको मुख्य पेसा हो ।
आफुलाई जंगलका राजा भनेर चिनाउने उनीहरुलाई अहिले दैलेख गुराँस गाउँपालिका र विभिन्न संघसंस्थाहरुले राहत दिने गरेका छन् ।
राउटे समुदायलाई गुराँस गाउँपालिकाले अस्थायी परिचयपत्र दिई गाउँपालिकाको नागरिककारुपमा सेवा सुविधा दिंदै आएकोे छ ।
उनीहरुलाई गाउँपालिकाबाट भत्ता र स्वास्थ्य शिक्षामा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।
अध्यक्ष वलीले कोरोना भाइरसकाबाट बच्नका लागि उनीहरुको स्वास्थ्य परिक्षण र खाद्यान्न समेत वितरण गर्दै आएको जानकारी दिए ।
सुर्खेतको भेरीगंगा नगरपालिका–२, स्थित छिन्चु खोलामा ४६ घरधुरी राउटेहरु अस्थाई रुपमा बसेका छन् ।
नेपालको लोपोन्मुख जातिको नाममा सूचीकृत यो जाति एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई बिरामी हुने डरले केहि महिनापछि छोडेर जाने यो जातिको चलन नै हो । राउटे परम्परामा कोही मान्छे मर्ने बित्तिकै ठाउँ छाड्ने चलन छ । एउटै ठाउँमा बसोबास गर्दा कुकाठ पनि सकिने, काठबाट बनाइएका सामग्रीले बजार नपाउने हुँदा राउटे एक ठाउँ हुँदै अर्को ठाउँ सर्ने गर्छन् ।