सोमवार, फागुन २१, २०८०

‘कर्णाली प्रदेश समाज दक्षिण कोरिया’द्वारा ११० थर्मल गन हस्तान्तरण

  
कर्णाली टाइम्स शनिबार, बैशाख २०, २०७७


सुर्खेत । दक्षिण कोरियामा रहेका नेपाली रोजगारदाताहरुको समुह ‘कर्णाली प्रदेश समाज दक्षिण कोरिया’ दक्षिण कोरियाले कर्णालीका लागि थान थर्मल गन (ज्वरो मापन गर्ने मेसिन) प्रदान गरेको छ ।
शनिवार मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई समाजले ११० थान थर्मल गन हस्तान्तरण गरेको हो ।
सुर्खेत समाज दक्षिण कोरियाका पूर्व पदाधिकारी र वरिष्ठ सल्लाहकार लक्ष्मीनारायण वजस्नेत, सल्लाहकार सन्तोष खड्का र कर्णाली प्रदेशका लागि वितरण गरिएका थर्मल गन अनुगमन समितिका संयोजक नगेन्द्र उपाध्याय मुख्यमन्त्री कार्यालयमै पुगेर हस्तान्तरण गरेका हुन् ।
कर्णाली प्रदेशका लागि गरिएको सहयोगको लागि मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश समाज दक्षिण कोरियालाई धन्यवाद ज्ञापन गरे । महामारीका बेला आफ्नो कमाईबाट सामाजिक सेवा गरेको भन्दै उनले समाजले दिएका सामग्रीलाई महामारी नियन्त्रणका लागि सदुपयोग गरिने प्रतिवद्धता जनाए ।
उनले यो सहयोग मात्र नभएर अरुका लागि शिक्षा समेत भएको बताए । ‘कोही पनि व्यक्ति पुगेर विदेशमा जाने होईन, नभएरै कमाउन जाने हो,’ मुख्यमन्त्री शाहीले भने, ‘दुख गरी कमाएको रकमबाट आफ्नो गाउँठाउँलाई सहयोग गर्नु अरुका लागि एक खालको शिक्षा पनि हो ।’
सामाजिक विकास मन्त्री दल रावलले केन्द्र सरकारले पठाएको सामग्रीले केही राहत भएपनि ज्वरो नाप्ने थर्मल गन भने पर्याप्त नभएको अवस्थामा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको सहयोग महत्वपूर्ण भएको बताए ।
कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष पदमबहादुर वस्नेतले रोजगारदाताहरुले बाहिर देशमा रहेर कमाएको पैसाबाट गाँस कटाएर सहयोग गरेको बताए । समाजले प्रदेशका लागि आवश्यक पर्ने अरु सहयोग गर्ने पनि बताए ।
समाजले दिएका थर्मल गनहरुमध्ये सुर्खेतमा १६ वटा, रुकुम पश्चिममा १२, सल्यानमा १३, कालिकोटमा ११, मुगुमा ६, दैलेख १४, हुम्लामा ९, डोल्पामा ९, जुम्लामा ११ र जाजरकोटमा ९ वटा थर्मल गन दिनेगरी सूचि समेत बनाएर पठाइएको छ ।
यस्तै कर्णाली प्रदेश समाज दक्षिण कोरियाले सुर्खेको बराहताल गाउँपालिकालाई छुट्टै १० वटा थर्मल गन हस्तान्तरण गरेको छ ।