शुक्रबार, माघ २५, २०८१

‘कालापहाड’ बाट कर्णालीलाई कति जोखिम ?

भारतको उत्तराञ्चल र हिमाञ्चल प्रदेशमा हालसम्म १ जनाको मृत्यु भएको छ । १०० जना संक्रमित भएकामा ७३ जना निको भएर घर फर्किएका छन् ।

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २३, २०७७
कोरोना प्रकोपछि कालापहाडबाट घर फर्किँदै नेपाली

सुर्खेत । कर्णालीवासीको लागि रोजगारी गर्न भारत (कालापहाड) जानुपर्ने पुस्तौनी बाध्यता हो । कालापहाड नगई अधिकांश कर्णालीवासीको जीवन गुजारा चल्दैन । अहिले कोभिड–१९ को विश्वव्यापी महामारी भारत हुँदै नेपालमा प्रवेश गरेपछि कालापहाडबाट कर्णाली कति जोखिममा छ भन्ने चर्चा सुरु भएको छ ।

यसको लागि सबैभन्दा पहिले कालापहाड भनेर चिनिने भारतीय क्षेत्रको अवस्था केलाऔं । कर्णालीवासीको लागि कालापहाड जाने प्रमुख दुई गन्तव्य हिमाञ्चल र उत्तराखण्ड प्रदेश हुन् । भारतको हालसम्मको अवस्था हेर्दा कालापहाडको रुपमा चिनिने यी दुई प्रदेश कोरोनाबाट कम प्रभावित छन् । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार सोमबारसम्म भारतभर ४५ हजार २ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये १ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशमा भने ४० जनामा मात्र संक्रमण देखिएको छ । तीमध्ये ३४ जना निको भएर घर फर्किएका छन् । एक जनाको मृत्यु भएको छ । त्यस्तै उत्तराखण्डमा एकजनाको पनि मृत्यु भएको छैन । ६० जना संक्रमित देखिएकामा ३९ जना निको भएर घर फर्किएका छन् । यस हिसाबले हेर्दा कालापहाडमा एक सयजना संक्रमित भएका छन् भने एक जनाको मात्र मृत्यु भएको छ । ७३ जना निको भएर घर फर्किएका छन् । हाल २६ जनामात्र उपचारमा रहेका छन् । यद्यपि, कालापहाडा भनिने भारतका ती राज्यमा नेपालको कर्णालीमा जस्तै परीक्षण भने निकै सुस्त छ । उत्तराखण्डमा स्वाब परीक्षण गर्ने ५ वटा पीसीआर मेसिनमात्र रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कालापहाडमा काम गर्न गएका नेपाली

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल कालापहाडको रुपमा परिचित यी दुई प्रदेशमा संक्रमण सामान्य हुनुले कर्णाली केही हदसम्म सुरक्षित रहेको हुनसक्ने बताउँछन् । यसका साथै अधिकांश मान्छेहरु संक्रमण नभित्रिँदै घर फर्केकाले पनि केही सन्तोष मिलेको उनको भनाइ छ । कर्णालीवासीहरु भारतका अन्य प्रदेशमा पनि जान्छन् । तर, त्यहाँ जानेहरु मौसमी ज्याला मजदुरीभन्दा जागिरको लागि जान्छन् । उनीहरुको नेपाल आवतजावत कमै मात्र हुने गर्छ ।

सामान्यतयाः कालापहाड गएका कर्णालीवासीहरु फागुन–चैतभित्र घर फर्किसक्छन् । धानको बीउँ भिजाउने र खेतपातीको लागि पनि उनीहरु फर्किने गर्छन् । कर्णालीका जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय तहबाट संकलन गरेको तथ्यांकअनुसार चैत १ गतेयता भारतलगायत मुलुकबाट ५ हजार ७ सय ७६ व्यक्ति घर फर्किएका छन् ।

कालापहाड मात्र होइन, कर्णालीलाई लकडाउनको बेला उद्धारको नाममा भित्रिएका व्यक्तिहरुबाट पनि उत्तिकै जोखिम छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् । उनीहरु गाउँगाउँमा पुगिसकेका छन् । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार सबैभन्दा बढी कालीकोटका २ हजार ६ सय ७४ जनाको उद्धार भएको छ । त्यसपछि क्रमशः जुम्लाका १ हजार ५ सय ३५, मुगुका १ हजार ३ सय ४९, दैलेखका १ हजा १ सय २३, सुर्खेतका १ हजार ९४, जाजरकोटका १ हजार २६, डोल्पाका ६ सय ५५, रुकुम पश्चिमका ३ सय ६६, हुम्लाका ३ सय ४ र सल्यानका २ सय ६ जनाको उद्धार भएको उनले बताए । यसरी उद्धार भएकाहरुको न त स्वाब परीक्षण गरिएको छ न द्रुत परीक्षण नै गरिएको छ ।