बिहीबार, बैशाख २०, २०८१

कर्णालीका मुख्यमन्त्री भन्छन् ‘कर्णालीलाई उत्पादन र उज्यालो चाहियो’

  
कर्णाली टाइम्स बुधबार, बैशाख २४, २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई उत्पादनमा आत्मनिर्भरता र उज्यालो चाहिएको बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा बुधवार उर्जामन्त्री वर्षमान पुनसहितको ७ वटै प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रीहरुसँगको भर्चुअल बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहीले तत्काल राष्ट्रिय प्रशारण लाईन विस्तार गर्न नसकिने क्षेत्रहरुमा वैकल्पिक उर्जाको प्रयोग मार्फत विद्युत आपुर्तीको व्यवस्था आवश्यक रहेकोले संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।
प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शाहीले कर्णालीमा उत्पादनयोग्य कृषिभुमि प्रशस्त भए पनि सिंचाईको अभावका कारण उत्पादनमा आत्मानिर्भर हुन नसकेको तर्फ उर्जामन्त्री पुनको ध्यानाकर्षण गराए । कर्णालीका ५ वटा जिल्लामा अहिलेसम्म राष्ट्रिय प्रशारण लाईन नपुगेको, प्रदेश राजधानीमै पनि विद्युत आपुर्तिमा बारम्बार अवरोध भइरहेको बताउँदै मुख्यमन्त्री शाहीले समस्या सामाधानका लागि संघीय सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले उर्जामन्त्री पुनसँग विद्युत आपुर्ति सहज नहुँदा सरकारी कार्यालय संचालनमा समेत समस्या रहदै आएको बताउँदै वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा समेत वैकल्पिक उर्जाका माध्यमबाट विद्युत आपुर्ती गरिनुपर्ने बताए । संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीले उच्च प्राथमिकता पाउनुपर्ने भन्दै मुख्यमन्त्री शाहीले औषधिय गुण सहितको कृषि उपजहरुको उत्पादकत्व वृद्धिका लागि ठुला सिंचाई योजना आवश्यक रहेको औल्याएका छन् ।
संघ, प्रदेश र स्थानीय तहका सरकारबीचको कार्यक्षेत्र बाँडेर काम गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहीले यसले योजनामा हुने दोहोरोपन हटाउन र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन पनि सहयोग पुग्ने बताए ।