आइतवार, मंसिर ३०, २०८१

लकडाउनका कारण समस्यामा राउटे, गाउँपालिकाले दियो ऋण मागेर भत्ता !

  
कर्णाली टाइम्स बिहीबार, बैशाख २५, २०७७
जगतदल जनाला विक

सुर्खेत । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन)का कारण राउटे समुदायलाई समस्या भएपछि दैलेखको गुराँस गाउँपालिकाले ऋण मागेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सुर्खेत भेरीगंगा नगरपालिकाको छिन्चुखोलामा रहेका अस्थायी शिविरमा बस्दै आएका राउटे समुदायलाई बुधबार बस्तीमैै पुगेर गाउँपालिकाका लेखा प्रमुख टोपबहादुर शाहीले सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।
‘लकडाउनका कारण आर्थिक स्रोत बन्द भएपछि छाक टार्न पनि राउटे समुदायलाई समस्या भएको जानकारी पाएपछि व्यापारीहरुबाट ऋण मागेर भत्ता वितरण गरेका हौं,’ शाहीले भने, ‘भत्ता पाएपछि केही दिन राउटे समुदायलाई सहज हुन्छ ।’
सरकारले दिने सामाजिक सुरक्षा भत्ता र काठका भाँडाकुँडा विक्री गरेर जिविका चलाउने यो समुदायलाई लकडाउनले ठुलो प्रभाव परेको छ ।
‘बन्दले गाउँ जान पाईंदैन, बनाएका सामग्री पनि बिक्रि भएका छैनन्,’ राउटे मुखिया सुर्यनारायण शाहीले भने, ‘ठुलो जहान भएका कारण थोरै रासन सकिहाल्छ ।’
मुखिया शाहीले भत्ता मात्र भएर पनि खाद्यान्न किन्न सक्ने अवस्था नभएकोले खाद्यान्नको व्यवस्था गरिदिन माग गरेका छन् ।
दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई अस्थाई परिचयपत्र दिएर गाउँपालिकाका स्थायी नागरिककारुपमा सेवासुविधा दिंदै आएको छ ।

फिरन्ते जिवन बिताउने एउटै ठाउँमा नबस्ने र आफुलाई जंगलको राजा भनेर चिनाउने यो समुदाय लकडाउनयता भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चुखोलामा एक सय ५२ जना सदस्य बस्दै आएका छन् ।
कोरोना संक्रमण रोक्न अहिले राउटे बस्तीमा पनि कडाइका साथ लकडाउन गरि आवतजावतलाई समेत बन्द गरिएको छ ।
लकडाउनका कारण नौ जनाको परिवारलाई साँझ बिहान के खुवाउने भन्ने चिन्ता लागेको अर्का मुखिया मुखिया वीरबहादुर शाहीले बताए । मुखिया शाहीका तीन छोराको कमाईले उनको चुल्होमा आगो बल्छ तर यो लकडाउनमा जंगल र गाउँ जान नपाएपछि समस्या भएको उनको भनाई छ ।
सरसफाई नगर्ने, महिनामा एक पटक मात्रै नुहाउने, सौचालय प्रयोग नगर्ने, एउटै ठाउँमा झुम्मिएर बस्ने भएकोले यो समुदाय कोरोना संक्रमणको उच्च जोखिम रहेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।
गाउँपालिकाका स्थायी नागरिककोरुपमा सेवा सुविधा दिंदै आएपनि उनीहरु एउटै ठाउँमा नबस्ने भएकोले सरसफाईलगायतका विषयमा ध्यान केन्द्रीत गर्न समस्या भएको अध्यक्ष शाहीको भनाई छ ।