शुक्रबार, भदौ २८, २०८१

कर्णालीमा अनलाइन कक्षा भन्दा रेडियो कक्षा बढी प्रभावकारी

  
कर्णाली टाइम्स आइतवार, बैशाख २८, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा अनलाईन कक्षा भन्दा रेडियो कक्षा बढी प्रभावकारी बनेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देश लकडाउन भएसँगैं सबै शैक्षिक संस्थाहरु पनि बन्द भएको दुई महिना पुग्नै लाग्यो । विद्यालय तहदेखि विश्वविद्यालयसम्मका परीक्षा रोकिएका छन् । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना हुन नपाएको स्थिति छ । लकडाउनका कारण शैक्षिक गतिविधि रोकिएपछि देशभर अनलाइन कक्षाको चलिरहेका बेला कर्णालीमा पनि यसको चर्चा चलेको छ ।
इन्टरनेटको व्यवस्था भएका विभिन्न निजी र सरकारी विद्यालयहरुले अनलाइन कक्षा चलाइरहेका बेला धेरै विद्यार्थीहरु यसकोे पहुँचबाहिर छन् । विद्यालयहरुले अनलाइन ‘सफ्टवेयर’का माध्यमबाट कक्षा सञ्चालन गर्ने कोशिस गरे पनि गाउँमा रहेका विद्यार्थीहरु इन्टरनेटको पहुँचमा नहुँदा अनलाईन कक्षाको प्रभावकारी हुन सकेको छैन ।
सरकारले परीक्षा क्यालेन्डर बिग्रन नदिन अनलाइन पढाइ शुरू गर्ने निर्णय गरेको थियो । तर, सहर केन्द्रित शैक्षिक संस्थामा बाहेक अन्यत्र अनलाइन पढाई सम्भव देखिएको छैन । सहर बजारकै सबै सामुदायिक तथा नीजी विद्यालयमा समेत इन्टरनेट जडान गरिएको छैन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले अनलाइन कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय समितिलाई निर्देशन दिएको भए पनि सबै निजी विद्यालयले गर्न सक्ने अवस्था नरहेको प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले बताए । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर उपत्यकाका ४–५ वटा निजी विद्यालयहरुले मात्रै अनलाइन कक्षा शुरु गरेका छन् । यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसका उपप्राध्यापक पन्चदेव भट्टले विद्यार्थीको सहभागिता भने न्यून रहेको बताए । अनलाइन कक्षाको सुरुवात गर्नु राम्रो पक्ष भए पनि कर्णालीमा अहिलेकै अवस्थामा प्रविधिको प्रयोग गरी अध्यापन गराउनु सम्भव नभएकोले सरकारले सेवा प्रदायकहरुसँग समन्वय गरी इन्टरनेटको पहुँचमा सबैलाई जोड्नुपर्नेे उनको भनाइ छ ।

रेडियो कक्षा प्रभावकारी बन्दै ८० प्रतिशत विद्यार्थी रेडियोको पहुँचमा
सुर्खेतको जागरण एफएम ९०.८ मेगाहर्जले कर्णालीका १० जिल्लाका २५ वटा सामुदायिक रेडियाहरुबाट एसईई विशेष रेडियो कार्यक्रमहरु प्रशारण गर्दै आएको स्टेसन म्यानेजर दिपेन्द्र वलीले जानकारी दिए । सेयरकाष्ट इनिसियष्टी नेपाल नामक गैरसरकारी संस्थाले सन् २०१८ मा गरेको सर्भेक्षण अनुसार देशभर ७० प्रतिशत नागरिकले रेडियो सुन्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । अन्य प्रदेश भन्दा पिछडिएको प्रदेशकारुपमा चिनिएको कर्णालीमा ८० प्रतिशत मानिसहरुले रेडियो सुन्ने गरेका तथ्याङ्क थियो । त्यसलाई आधार मान्नेर हेर्दा कर्णालीका ८० प्रतिशत विद्यार्थी रेडियो कक्षाबाट लाभ लिएको स्टेसन म्यानेजर वलीले बताए । प्रत्यक्ष भिडियो कक्षाभन्दा रेडियो र टेलिभिजनबाट सञ्चालन गरिएका कक्षा बढी प्रभावकारी देखिएको प्याब्सन कर्णालीका अध्यक्ष नैनसिंह खत्रीले बताए । जागरणले २०६५ सालदेखि नै विशेष तयारीका सामग्रीहरु उत्पादन गदै आएको बताउँदै अहिले पनि आफैंले उतपादन गरेर अन्य रेडियोहरुबाट प्रशारण गरिएको जानकारी दिए । ११ र १२ को अंग्रेजी विषय र इसईई का अनिवार्य ५ विषयहरुको नियमित कार्यक्रम प्रशारण भएका छन् ।
यो वर्ष कर्णाली प्रदेशका १० जिल्लाका छात्रछात्रा गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले जानकारी दिए ।
‘साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८९६ र प्राविधिक धारतर्फ ५६८ परीक्षार्थी छन्,’ उनले भने, ‘ग्रेड वृद्धि साधरणधारतर्फ २ हजार ८१३ र प्राविधिक धारतर्फ २२ ले परीक्षा सम्मिलत हुँदैछन् ।’ शर्माकाकण अनुसार कर्णालीभरिमा १७६ परीक्षा केन्द्र रहेका छन् ।