सोमवार, मंसिर १७, २०८१

आफ्ना मान्छेलाई मात्र राहत दिएपछि वडा कार्यालयमा तालाबन्दी

  
कर्णाली टाइम्स आइतवार, बैशाख २८, २०७७

जगतदल जनाला विक
 सुर्खेत ।  दैलेखको ठाटिकाँध गाउँपालिका–३ बिशालामा वडा अध्यक्ष र वडा सदस्यले आफ्ना नातेदारलाई राहत दिएपछि अन्य नागरिकहरुले वडा कार्यालयमा ताला लगाएका छन् ।
वडा अध्यक्ष कर्णबहादुर शाही र वडा सदस्य बलबहादुर बुढाले राहतको माग गर्ने बेला नै आफ्ना मान्छेहरुको लिष्ट पठाएर वितरण गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । वडा सदस्य बलबहादुर बुढाले माइतमा गएर बसेकी बुहारी मिरा कठायतलाई त्यहिं गएर राहत दिएका थिए । मिराका श्रीमान् रोजगारीका लागि बाहिर देश गएका छन् भने उनी सुर्खेतमा बसेर बालबालिकालाई पढाउनका लागि भाडामा बस्दै आएकी थिइन् । यतिमात्र होईन वडा सदस्य बुढाले कोरोना सचेतना फैलाउका लागि वडाको स्वयंमसेवक पनि आफ्नो छोरा जीवन बुढालाई बनाएका छन् ।
जसलाई राहतको आवश्यकता हो त्यसलाई नदिएर आफ्ना आसेपासे र छोरा बुहारीलाई राहत बाँडेपछि वडा कार्यालयमा ताला लगाएको स्थानीय बम बहादुर दसौदीले बताए ।
वडावासीले विभिन्न ६ बुदे माग राख्दै वडा कार्यालयमा ताला लगाएको र माग समाधान नभए ताला नखोल्ने अर्का स्थानीय हिम बहादुर शाहीले बताए । यता वडा अध्यक्ष कर्ण बहादुर शाहीले छनोट प्रक्रियामा केहि समस्या भएको र त्यसको समाधानका लागि वडा कार्यालय लागि परेको बताए ।