आइतवार, चैत्र ९, २०८१

कर्णालीमा ग्याँस, कृषि र हार्डवेयर सामग्री ढुवानी गर्न दिइने

  
कर्णाली टाइम्स सोमवार, बैशाख २९, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले ग्यास, कृषि जन्य सामग्री र हार्डवेयर सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश ५ को नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै कर्णाली भित्रने मुख्य नाका सुर्खेतको बबई र कुइने र सल्यानको कपुरकोटमा बैशाख २३ गते विहानबाट नाका सिल गरेको थियो ।
बैठकले कर्णाली प्रदेश प्रवेश सिमा नाकाहरुबाट सवारी आवत जावतमा कडाई यथावत राख्ने तर अत्यावश्यक ढुवानी गर्ने सवारीहरुलाई भने सहज भित्रने दिने निर्णय गरेको छ ।
बैठकले बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गर्ने निर्णय गरेको छ । यस्तै, कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु (बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने छन् ।
यसैगरी, महत्वपूर्ण र रोजगारमूलक विकास निर्माणका लागि आवश्यक सामग्री (पाइप, छड, सिमेन्ट र निर्माण उपकरणहरु ढुवानी र ओसारपसार, चामल, दाल, नुन, तेल, चिनी जस्ता अत्वावश्यक खाद्य सामग्री, ग्याँस र डिजेल पेट्रोलजस्ता पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको हो ।
सुरक्षा सतर्कता अपनाउदै परियोजनाहरुमा काम गर्ने जनशक्ति बाह्य जिल्लाबाट आवत जावतको व्यवस्था पनि गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले भारत र नेपालका बिभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्नका लागि नाकामा नै क्वारेन्टाइन निर्माण गरेर राख्ने जनाएको छ ।
तर तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न लगाउन सकिने निर्णय बैठकले गरेको छ ।
तर भारत लगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकहरुले थप क्वारेन्टाइन निर्माण गराउन लगाइने छ । नाका सिल थप गरिएको वा अन्त्य भएको बारे बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छैन् ।