मंगलबार, मंसिर २५, २०८१

कालिकोटको पलाँतामा विवाद चर्कियो, गाउँपालिका अध्यक्ष बिरुद्ध नाराबाजी

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ १, २०७७

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका भएको विवाद झनै चर्किएको छ । बैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमलाई पलाँता गाउँपालिका–२ का वडा अध्यक्ष मानबहादुर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गाउँपालिका अध्यक्ष बिष्णु रोकाया बीच ढुङ्गा हानाहान भएकोपछिे घटनाले नयाँ रुप लिएको हो ।
पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बम, वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गाउँपालिका अध्यक्ष रोकाया पक्ष बीच झडप हुँदा गाउँपालिका अध्यक्ष बम र उनकी श्रीमती घाइते भएपछि हेलिकप्टरद्धारा उद्दार गरि प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिएको थियो । श्रीमति घाइते भएपछि गाउँपालिका अध्यक्ष बमले वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष रोकाया बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा मुद्दा दायर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गाउँपालिका अध्यक्ष रोकायालाई बुधबार पक्राउ गरेपछि अहिले वडा अध्यक्ष भण्डारी र रोकाया पक्षले गाउँपालिकामा तालाबन्दी गर्दै आएका छन् ।
स्थानीयले गाउँपालिका अध्यक्ष बमका विरुद्धमा चर्को नाराबाजी गरेका छन् ।
आक्रमण गरेको आरोपमा पक्राउ परेका नेपाल कम्यूनिष्ट पाटी (नेकपा) पलाता गाउँपालिका कमिटी अध्यक्ष इन्द्र रोकाया र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारीका समर्थकहरुले भ्रष्टचारी नेता चाँहिदैन, गाउँपालिको खाता बन्द गर, नेता थुन्न पाईंदैन, पलाँता रेडियो खारेज गर, झुट्टा मुद्धा खारेज गर, जस्ता नारा लगाएर चर्को विरोध गरेका छन् । कालोझण्डासहित अध्यक्ष बमका विरुद्धमा उत्रेका स्थानीयले १० महिनादेखि शिक्षक कर्मचारीलाई तलतब नपाएको, अग्नि पीडितलगायतका लागि आएको पैसा हिनामिना भएको आरोप लगाएका छन् । आन्दोलनमा उत्रेका स्थानीयहरुले गाउँपालिकाका सबै वडा कार्यालयमा ताला लगाउने अभियान चलाएका छन् ।
बुधबार पक्राउ परेका वडा अध्यक्ष र पार्टी अध्यक्ष रिहा नगरेसम्म ताला नखोलिने उनीहरुले बताएका छन् । गाउँपालिकाको वडा नम्बर १ र २ नम्बरमा तालाबन्दी गरिसकेको नेकपाका स्थानीय नेता मनप्रसाद न्यौपानेले बताए ।
यस्तै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पक्षधरहरुले वडा अध्यक्ष भण्डारी र नेकपा गाउँपालिका अध्यक्ष रोकायाको कारवाहीको माग गर्दै दुई दिन पलाँता गाउँपालिकाको थिर्पु प्रहरी चौकीमा दुई दिन देखि प्रद्धर्शन गर्दै आएका छन् ।