मंगलबार, बैशाख ४, २०८१

लकडाउनबीच घरघरै पुगेर विद्यार्थीलाई पाठ्यपुस्तक दिइने

  
जगतदल जनाला विक शनिबार, जेष्ठ ३, २०७७
वीरेन्द्ननगरबाट पाठ्यपुस्तक बाेकेर जाँदै गरेकाे गाडी

सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण देशभरमा शिक्षण संस्था बन्द छन् । । यसले पठनपाठनका साथै वार्षिक शैक्षिक ‘क्यालेन्डर’ समेत प्रभावित भएको छ । कर्णालीका सुर्खेतलगायत जिल्लामा भने यही अवस्थामा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरि स्थानीय तहले समन्वय गरेका छन् ।

प्रत्येक नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना हुन नपाए पनि लकडाउनकै बेला जनक शिक्षा सामग्री केन्द्रले कर्णालीमा पाठ्यपुस्तक ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरका प्रत्येक सामुदायिक विद्यालयको खातामा पाठ्यपुस्तक खरिदका लागि रकम पठाएर पनि निकासी भइसकेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । उनले कोरोनाका कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् भनेर प्रत्येक विद्यालयलाई विद्यार्थीको घरमै पुगेर या विद्यालयमैं व्यवस्थित तरिकाले वितरण गर्न निर्देशन दिइएको बताए । ‘हामीले प्रत्येक विद्यालयका खातामा बजेट पठाइसकेका छौं,’ उनले भने, ‘विद्यार्थीको घरमै पुगेर या सामाजिक दुरी राख्दै पुस्तक बाँड्ने निर्देशन दिएका छौं ।’ कक्षा ५ देखि १० सम्मका पुस्तकहरु विद्यालयले बाँड्ने उनले बताए ।

वीरेन्द्ननगरकाे एक गाेदाममा रहेकाे पाठ्यपुस्तक

वीरेन्द्रनगरकै जन नमुना माध्यामिक विद्यालयका प्रध्यानाध्यापक याम श्रेष्ठले नगर शिक्षासँग समन्वय गरेर विद्यार्थीलाई किताब वितरण गर्ने योजनामा अन्य जिल्लाका (उपत्यकाभन्दा बाहिरका) विद्यार्थीहरु पनि अध्ययन गर्ने भएकोले समस्या भएको बताए । उनले अनलाइन कक्षा पहुँचभन्दा बाहिर भएकोले किताब दिएपछि बैकल्पिक व्यवस्था हुन सक्ने बताए । पाठ्यपुस्तक वितरण गरेपछि विद्यार्थीले स्वअध्ययन वा टेलिभिजन, एफएमबाट कक्षा सञ्चालन भएपछि पनि सहज हुने उनको भनाइ छ ।

सरकारको निर्णय अनुसार विभिन्न डिलरमार्फत विद्यालय हुँदै विद्यार्थीसम्म पुगेपछि फुर्सदको समयमा अध्ययन गर्न सकिने भएकोले पनि केन्द्रले लकडाउनकै बीचमा सबै प्रदेशमा पाठ्यपुस्तक पठाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्र आचार्यले बताए । लकडाउनकै बीचमा पनि दैलेख, सुर्खेत, कालीकोट, सल्यान र जाजरकोटमा डिलरमार्फत पाठ्यपुस्तक पठाइएको जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीले बताए ।

निजी विद्यालयले विद्यार्थी भर्ना गरेपछि मात्र पाठ्यपुस्तक दिने भनिए पनि सामुदायिक विद्यालयमा भने पाठ्यपुस्तक लिइरहेको न्यु प्रभात स्टेस्नरीका सञ्चालक कमल नेपालले बताए । सरकारले लकडाउन जारी गर्नु पहिलेदेखि नै शैक्षिक गतिविधि ठप्प भएपछि लाखौं विद्यार्थी प्रभावित भएका छन् । यतिबेला देशभर अनलाइन कक्षाको चर्चा चले पनि कर्णाली जस्तो बिकट प्रदेशका धेरै विद्यार्थी त्यसको पहुँच भन्दा टाढा छन् ।

इन्टरनेटको सीमित पहुँचका बाबजुद कर्णाली प्रदेशका केही शैक्षिक संस्थाहरुले पनि सूचना प्रविधिको प्रयोग गर्दै पठनपाठन सुचारु गर्ने गरेका छन् । विद्यालयले अनलाइन ‘सफ्टवेयर’का माध्यमबाट कक्षा सञ्चालन गर्ने कोशिस गरे पनि प्रभावकारी भने हुन सकेको छैन । शैक्षिक संस्था बन्द भएपछि अधिकांश विद्यार्थी गाउँमा छन्, जहाँ इन्टरनेटको पहुँच छैन । प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले प्रत्यक्ष भिडियो कक्षाभन्दा रेडियो र टेलिभिजनबाट सञ्चालन गरिएका कक्षा बढी प्रभावकारी देखिएको बताए ।