जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । पहिलो कोरोना संक्रमित देखिएको नवौं दिनमा आइपुग्दा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ जना पुगेको हो । मंगलबार बिहानमात्रै १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा जाँच गरिएको पिसिआर रिर्पोटमा आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।
कर्णाली प्रदेशमा भारतबाट आउने नागरिकहरुका कारण कोरोनाको जोखिम बढेको छ ।
मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको डाक्टर खड्काले बताए । यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ भने दैलेखमा ८ गरी २३ पुगेको हो ।