शनिबार, भदौ २९, २०८१

कोरोनाको संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई मुख्यमन्त्री शाहीको अनुरोध

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ २१, २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाको संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई अनुरोध गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोरोनाको संक्रमण बढेको बताउँदै सहयोगको लागि दाताहरुलाई आग्रह गरेका हुन् ।
भारतबाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको बताउँदै मुख्यमन्त्री शाहीले क्वारेन्टाईन व्यवस्थापन, आईशोलेसन व्यवस्थापन र संक्रमण परिक्षणमा सरकारलाई समस्या परेको बताए ।
कर्णाली प्रदेशबाट झण्डै डेढ लाखको संख्यामा भारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएकोले उनलले अझै पनि १ लाख भन्दा वढी नागरिक कर्णाली फर्कने अनुमान रहेको जानकारी दिए ।
ठुलो संख्यामा विदेशबाट फर्किएका नागरिकहरुबाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण रहेकोले विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक रहेको स्पष्ट पारे ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५ सय नमुना मात्र परीक्षण गर्न सकिने भएकोले प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक रहेको बताए ।
मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुलाई कोरोनाको रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाईन र आईशोलेसन व्यवस्था, पीसीआर प्रयोगशालाको स्थापना, परीक्षणका लागि आवश्यक किट र एम्बुलेन्समा सहयोग गर्न आग्रह गरे ।
कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाको लागि मात्रै रोजगारीको लागि भारत जाने गरेको र कोभिड–१९ ले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनु परेकोले बाध्यता रहेको छ ।
प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरीबिको रेखामुनी रहेका नागरिकका लागि क्वारेन्टाईनमा रहनुपर्ने १४ दिन सम्मका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए ।
विकास साझेदार संस्थाहरुसंगको छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु र संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।