सुर्खेत । बहुप्रतिभाका धनी सुर्खेतका हरि विष्ट कलाकार, खेलाडी, युवा नेता र समाजसेवीका रुपमा परिचित छन् ।
विश्व भर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले लकडाउन जारी गर्यो । लकडाउन सुरु भएको पाँचौ दिन चैत १५ गतेदेखि नै दैनिक मजदुरी गरेर खाने विपन्न समुदायलाई खाद्यान्नको समस्या देखिन थालिसकेको थियो । यस्तो अवस्थामा सहयोग गर्ने उद्देश्यका साथ नगरपालिका, वडा, प्रहरी प्रशासनसँग कलाकार तथा समाजसेवी हरि विष्टले समन्वय गरेपनि उनलाई कसैले सहयोग गर्न दिने वातावरण बनेन ।
नगरपालिकाले सरकारको नीतिअनुसार एकद्वार प्रणालीबाट राहत तथा सहयोग वितरण गर्नुपर्ने र व्यक्तिगतरुपमा सहयोग गर्न नमिल्ने निर्णय गर्याे ।
त्यसपछि विष्टलाई सहयोग गर्न झनै समस्या भयो । सुरुमा उनले प्रहरीलाई पानी, स्वास्थ्य सामग्री र चाउचाउ वितरण गरे । उनलाई चिनेजानेका मानिसहरुले सहयोग गरिदिनु पर्यो भनेर आउन सुरु भइसकेको थियो । अनि उनले समस्यामा परेका नागरिकलाई आफ्नो व्यक्तिगत नम्बरमा फोन वा मेसेज पठाउन अनुरोध गर्दै फेसबुकमा पोष्ट गरे ।
त्यसपछि बिष्टले लुकिछिपी अप्ठ्यारोमा परेकालाई सहयोग गर्न थाले । बिहान सात बजेदेखि साँझ आठ बजेसम्म आफ्नै गाडीमा खाद्यान्न राखेर मेसेज र फोन आएका, भारत लगायत अन्य मुलुकबाट बाटोमा अलपत्र नागरिक र प्रहरीलाई सहयोग गर्दै आएका छन् । संकटका बेला समस्यामा परेका नागरिकहरुको सारथी बनेका छन् ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न समेत नपाएपछि छाक टार्नै मुस्किल भएका बेला आफ्नो घरमै आएर आपुलाई सहयोग गरेका कारण सहज भएको उनले सहयोग गरेका व्यक्तिहरुले भन्ने गरेका छन् ।
‘लकडाउनका कारण मजदुर, अपांगता भएका व्यक्तिको परिवार, विद्यार्थीलाई खाद्यान्नको ठूलो समस्या छ,’ बिष्टले भने, ‘यस्तो समस्या भएकाहरूले फोन गर्नु भनेर मेरो फेसबुकमा नम्बर राखेको छु, यसमा फोन आउँछ । मेसेजमा ठेगाना पठाउन भन्छु, अनि सहयोग गर्न जान्छु।’
अरूलाई यसरी सहयोग गर्न पाउँदा एकदमै खुसी मिल्छ । मनमा शान्ति छाउँछ । भगवानलाई ढोग्न हामी मन्दिर जान्छौं । तर, हामीले आफूले सक्ने सहयोग अरूलाई गर्यौं भने भगवान हामीभित्रै हुन्छन्, विष्टले भने ।
बाहिर जिल्लाबाट आएर डेरा गरी बसेका विद्यार्थी, रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका, विभिन्न दैनिक ज्यालामा मजदुरी गर्ने मजदुर, दीर्घरोगी, अपांग, विपद्बाट पीडित, बेसहारा नागरिकलाई लकडाउनका बेला खाद्यान्न सहयोग गर्ने गरेको बिष्टले बताए ।
लकडाउन सुरु भएदेखि देखि हाल सम्म व्यक्तिगतरूपमा २५० घर परिवारलाई खाद्यान्न, आर्थिक र खाना पकाउने ग्यास सहयोग गरेका छन् । यस्तै उनी आवद्ध तरुणदलको तर्फबाट पनि विभिन्न ठाउँमा ३०० घरधुरीलाई सहयोग गरेका छन् ।
‘कोभिड–१९ हिरो’ अवार्डबाट सम्मानित
कोरोना भाइरस कोभिड–१९ को विषम परिस्थितिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विष्टलाई अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाले ‘कोभिड–१९ हिरो’ अवार्डबाट सम्मान गरेको छ ।
कोरोना महामारीको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न, आर्थिक, उपचार लगायत सामाजिक कार्य गरेवापत उनलाई सम्मानित गरिएको हो ।
आफ्नो गास काटेर समस्यामा परेका नागरिकलाई दिनरात नभनी आफ्नो व्यक्तिगत सम्पत्तिको लोभ नमानेर सहयोग गरेर आफुले अवार्ड पाउँदा खुसी लागेको विष्टले बताए । ‘मैले आफ्नो गास काटेर समस्यामा परेका नागरिकहरुलाई सहयोग गरें त्यसको मुल्याङ्कन गर्दै ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाले ‘कोभिड–१९ हिरो’ अवार्डबाट सम्मान पाएँ ।’ विष्टले भने, ‘मेरो क्षमताले र सास रहुन्जेल समाजसेवा कार्य गरिरहने छु ।’
यो पनि पढ्नुहोस् :
राहत ल्याउन वडामा जाँदा नागरिकता माग्छन् तर उनी एक कल फोनमा खाद्यान्न लिएर घरमा पुग्छन्