आइतवार, असार ३, २०८१

अमानवीय घटनामा राजनीति हावी हुने डर पैदा गरेको त्यो यात्रा

  
जगतदल जनाला विक बिहीबार, जेष्ठ २९, २०७७

सुर्खेत । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र जोखिम नियन्त्रणका लागि सिंगो देश नै लकडाउन गरिएको छ । लकडाउनका कारण उद्योगी, व्यवसायीहरु, शैक्षिक क्षेत्रलगायतमा संलग्न अधिकांश मानिसको दैनिकी ठप्प भएपनि मेरो भने निरन्तर चलिरहेको छ । मेरो जस्तै पेशा भएका मानिसको दैनिकी बन्द गर्न ‘कोरोना महामारी’ले सक्दैन, न त अन्य कुनै विपद्ले । झन् सक्रीय हुनुपर्छ ।
बन्दाबन्दीका कारण देशको अर्थतन्त्र खस्किँदै गएका बेला समाजमा अनेकथरी अमानवीय घटना पनि भईरहेका छन् । बन्दाबन्दी सुरु भएको ठ्याक्कै दुई महिनापछि रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा अमानवीय घटना भयो ।
नरसंहारका रुपमा मानिएको यो सोती घटनामा ६ जना युवाको मृत्यु भएको छ । सोतीकी मल्ल थरकी केटी भगाउन गएका जाजरकोटको खलंगाका विश्वकर्मा थरका केटासहित उनीसँग गएका ५ जना अरुको पनि मृत्यु भएको यो घटनालाई ‘जातीय विभेदको पराकाष्ठा’का रुपमा लिइएको छ । मानव अधिकारकर्मी, दलित अधिकारकर्मी, सञ्चारकर्मीलगायतको मुख्यगरी ध्यान खिचेको यो घटनाबारे स्थलमै पुगेर बुझ्न हाम्रो यात्रा पनि तय हुन्छ ।
जेठ १० गते भएको घटनामा मृत्यु भएका सबैको शव २० गते बेलुकासम्म फेला परिसकेको थियो ।
जेठ २१ गते बेलुकाको ७ बजेको थियो । मोवाईलको घण्टी बज्यो । गोपाल बराईली, जो राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँले भोलीपल्ट (२२ गते) जाजरकोट जाने कुरा गर्नुभयो । म पनि राष्ट्रिय दलित पत्रकार संगठन सुर्खेतको जिल्ला अध्यक्ष र सुर्खेत जाजरकोटबाट नजिक, त्यति मात्र नभई कर्णालीको राजधानी सुर्खेत नै भएकाले सायद गोपाल सरले म पनि त्यहाँ जानु उपयुक्त ठान्नुभयो होला ।
मैँले मेरो अनलाईनको प्रधानसम्पादक रमेश शाहीलाई टेलीफोनमा आफू जाजरकोट जानुपर्ने बारेमा जानकारी गराएँ । कोरोनाको प्रकोप फैलिरहेकाले उहाँले आफू सुरक्षित भएर जान सुझाउनुभयो ।
गोपाल बराइली सरले टेलिफोनमा भने अनुसार हामी बिहान ८ बजे सुर्खेतबाट जाजरकोटतर्फको यात्रा सुरु ग¥यौं । राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारको गाडीमा केन्द्रीय सदस्य तथा पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा र मेरो यात्रा सुरु भयो ।
काठमाडौंबाट जाजरकोट पुग्न आउनुभएका गोपाल बराइलीसहितको समुहलाई हामीले छिन्चुमा भेट्यौं । त्यहाँ चिया खाईसकेपछि हामी ९ बजे छिन्चुबाट जाजरकोटका लागि गयौं । बराईली सरसँगको टिम अगाडि, हामी पछाडि थियौं ।
जहरे पुगेपछि खगेन्द्र दाईलाई कर्णाली प्रदेशमा कार्यरत प्रहरीका एक उच्च अधिकारीको फोन आयो । उहाँहरुको टेलिफोन संवादपछि मैँले संवादबारे सोधेँ । खगेन्द्र दाईले कुरा लुकाउँदै ‘त्यस्तो केही होईन, तिमीहरु जाजरकोट गएको भन्ने माथीबाट जानकारी आएको खबर गर्नुभयो’ भन्नुभयो ।
कुरा लुकाएको बालुवा संग्रही पुगेपछि थाह भयो । सुर्खेत र सल्यानको सिमानामा पर्ने बालुवा संग्रहीमा रहेको प्रहरी पोष्ट अगाडि एक जना प्रहरी जवान हातमा प्रवेश पुस्तिका लिएर उभिईरहेका थिए । उनले हामी चढेको खगेन्द्र दाईको गाडीको नम्बर प्लेट राम्रोसँग हेरे । फेरि त्यो पुस्तिकामा हेरे । त्यसपछि फेरि मोवाईलमा हेरे । अनि खगेन्द्र दाईलाई सोधे ।
तपाई खगेन्द्र सुनार हो ? ति प्रहरी जवानले मोवाईलमा खगेन्द्र दाईको तस्विर हेरेका रहेछन् । ‘हजुर म नै हो सर’ खगेन्द्र दाईले जवाफ दिनुभयो ।
‘तपाईहरुको गाडी यहाँभन्दा अगाडि बढ्न सक्दैन’ ति प्रहरीले भने ।
‘हामी पत्रकार हो सर, हामी सोती घटनाका विषयमा रिपोर्टिङका लागि जाजरकोट जाने हो ।’ यसो भन्दै उहाँले आफ्नो पर्सबाट सूचना विभागबाट प्राप्त कार्ड निकालेर देखाउनुभयो । उक्त कार्ड भएपछि लकडाउन, कफ्र्यु जस्तो अवस्थामा पनि पत्रकारले कुनै पनि ठाउँमा रिपोर्टिङका लागि जान मिल्ने थियो ।
तर ति प्रहरीले माथीको आदेश छ भनेर हाम्रो गाडी रोकिराखे । हाम्रो गाडीभन्दा पछाडि आएका युट्युब सञ्चालकहरुलाई भने जान दिईयो । केही समय कुरेपछि खगेन्द्र दाईले मसँगै बसेका भिम परियार र मलाई अलि अगाडिसम्म हिँडेर जान आग्रह गर्नुभयो । हामी पैदल अगाडि बढ्यौं ।
हामी हिँड्दै थियौं । बराइली सर चढेको गाडी आयो । त्यसमा पत्रकार भिम घिमिरे, अधिवक्ता बद्री प्रसाद भुषाल, दलित पत्रकार संघ प्रदेश ५ का अध्यक्ष चिन्ता परियार, समता फाउण्डेशनका गोपाल नेपाली पनि हुनुहुन्थ्यो । मैंले बराइली सरलाई सबै कुरा बताईसकेपछि उहाँले हामीलाई पनि त्यही गाडीमा बस्न भन्नुभयो ।
प्रहरीले आउन दिएपछि आउने भन्नुभएको खगेन्द्र दाई र टेकेन्द्र दाई आउन सक्नुभएन । उहाँहरुलाई जाजरकोट आउनै नदिने प्रपञ्च रचिएको रहेछ । आसपासका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट नै उहाँहरुलाई जाजरकोट पुग्न नदिने आदेश रहेछ ।
हामी दिउँसोको ३ बजे जाजरकोटको मटेला भन्ने ठाउँमा पुग्यौं । जहाँबाट खलंगाको मानिस चौरजहारी जाने मुख्य झोलुंगे पुल छ । सोती घटनामा ज्यान गुमाएका गोविन्द शाहीको घरमा गयौं । गोविन्दका आफन्तसँग र केही छिमेकीसँग कुरा ग¥यौं ।
४ बजेसम्म हामीले खाना खाएका थिएनौं । खलंगा पुगेर एउटा होटलमा खाना खायौं ।
पत्रकार महासंघ जाजरकोट शाखाका पदाधिकारीसँग सोती घटनाका बारेमा भेटवार्ता ग¥यौं । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठसँग पनि एक घण्टा जति छलफल ग¥यौं । भेटका क्रममा सत्यतथ्य छानविन हुने आश्वासन उहाँहरुबाट मिल्यो ।
भोलीपल्ट २३ गते बिहान जाजरकोटका दलित अगुवा र अधिकारकर्मीहरुसँग पनि घटनाका बारेमा कुराकानी भयो । त्यसक्रममा घटनालाई तोडमोड गर्न खोजिएको दलित अधिकारकर्मीहरुले बताए ।
केटी भगाउन जाँदा ज्यान गुमाएका नवराज विकको घरमा पनि गयौं । उनीहरुले न्याय पाउने आशा कमै भएको बताए । गोपाल सरको टिमले घटनामा ज्यान गुमाएका अरु टिकाराम सुनार, गणेश बुढा र लोकेन्द्र सुनारका परिवारलाई पनि भेट्ने कुरा भयो ।
म र मसँग गएको साथी भिम सुर्खेततर्फ हिँड्यौं । हामी दुईजनालाई उहाँहरु नै आएको गाडीले खगेन्द्र दाईको गाडी प्रहरीले रोकेको ठाउँ बालुवा संग्रहीसम्म पु¥याईदियो । खगेन्द्र दाईको गाडीमा वीरेन्द्रनगर फर्कियौं ।
पीडकले पाउनुपर्ने न्यायको लागि साथ दिन जाजरकोट जाने यात्रा तय गर्नुभएका खगेन्द्र दाई आधा बाटो नपुग्दै वरैबाट फर्किनुप¥यो । उहाँको गाडी हामीलाई बालुवासंग्रहीसम्म पु¥याउन र त्यहाँबाट सुर्खेतसम्म ल्याउन मात्र काम लाग्यो । गाडीको नम्बर र उहाँको फोटोसहित प्रहरी जवानलाई दिएर रोक्न लगाएको दृश्यले मलाई सोती घटनाका पीडकलाई कारबाही र पीडितलाई न्याविना साम्य पार्न खोजिएको लक्षण जस्तो अनुभव गरायो । अमानवीय घटनामा राजनीति हावी हुने डर पनि पैदा गरायो ।