शुक्रबार, बैशाख २१, २०८१

कर्णालीमा कोरोना : १०८६ जना संक्रमित, ३४२ निको भएर घर फर्किए

  
जगतदल जनाला विक मंगलबार, असार २, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबारसम्म एक हजार ८६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट निको भएर ३४२ जना घर फर्किएका छन् । कर्णालीमा भारतबाट आउने नागरिकको संख्या दिनप्रतिदिन बढेका कारण पनि संक्रमणको उच्च जोखिममा कर्णाली छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुल्लु अस्पताल दैलेख, सल्यान अस्पताल लगायतबाट हालसम्म ३४२ जना सक्रमितहरू निको भई घर फर्किएका हुन् ।
मंगलबार मात्रै दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कुल १९१ जना घर फर्किएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । डा. तिवारीका अनुसार यसअघि विभिन्न समयमा गरी १५१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार दैलेखमा सङ्क्रमितको संख्या ६३४जना, सुर्खेतमा २३५, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् । अहिलेसम्म रुकुमपश्चिममा भने कोरोना संक्रमित भेटिएका छैनन् । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।

मंगलबार प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाद्धारा जारी तथ्याङ्क