शुक्रबार, असोज २५, २०८१

लकडाउनमा पनि छमछमी ‘सुर्खेती चुरा’ व्यवसाय

  
कर्णाली टाइम्स बिहीबार, असार ११, २०७७

लक्ष्मी भण्डारी (सुर्खेत)

 

लकडाउनको समयमा धेरैको दिनचर्या फेसबुक हेरेर अथवा सुतेर बितेको छ । कतिपयलाई त कामबाट पन्छिनलाई लकडाउन गतिलो बहाना बनेको छ । तर, वीरेन्द्रनगर–८ की वसन्ता शाहीलाई भने लकडाउनको कुनै प्रवाह छैन । यो बेला पनि उनलाई आफ्नै काममा भ्याइनभ्याइ छ । साँझ विहानको भान्साको कामबाहेक उनी दिउँसोको समयमा चुरा बनाउनमा व्यस्त हुन्छिन् ।

उनी एक वर्षयता चुरा बनाउनको सुरुवात गरेकी हुन् । त्यही सीपले उनलाई लकडाउनको बेलामा पनि खाली हात बस्नु परेन । चुरा बनाएरै मासिक २५ हजारदेखि ३० हजारसम्म बचत हुने गरेको उनी बताउँछिन् । ‘लकडाउनको बेलामा अलि कम व्यापार भए पनि पनि धेरै दिदी बहिनीहरुले चुराको ‘अर्डर’ गर्नुहुन्छ र त्यही अनुसार बनाएकी छु,’ उनी भन्छिन्, ‘लकडाउनमा पनि आम्दानीमा टुटेको छैन ।’

उनले पाँच किसिमको मेटलका चुरा निर्माण गरेकी छन् । कानमा लगाउने टप, घाँटीमा लगाउने माला र पोते पनि बनाउन थालेकी छन् । एक जोडी चुराको मुल्य ५० देखि ३ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ, जुन बजार मुल्यभन्दा ५० देखि १ सय रुपैयाँ सस्तो हो । ‘चुरा बनाउँदा यसको टलकले गर्दा जति बनायो उति बनाउन मन लाग्छ,’ बसन्ता भन्छिन्, ‘खाना बनाउँदै पनि चुरा बनाउँछु , कहिलेकाहीँ त राति पनि बनाउँछु ।’

अन्य समयमा भन्दा कम चुरा बिक्री हुने भएपछि उनले कपडा सिलाउने काम पनि गर्छिन् । बन्दको कारणले बजार जान नसकेका स्थानीय छिमेकीहरु उनको कोठामै गएर कपडा सिलाउने गरेका छन् । ‘लकडाउनमा अन्य बेलामा भन्दा अलि कम बनाएको छु, त्यसैले यो बेलामा सिलाउने काम पनि सँगै अघि बढाएको छु,’ उनी भन्छिन्, ‘सिलाइकटाइको तालिम पनि लिएको हुनाले अहिले लकडाउनको बेलामा सदुपयोग गरेकी छु ।’

त्यतिमात्र होइन, टोलटोलका महिलाहरुलाई पनि आफ्नो सीप सिकाउन थालेकी छन् । बाहिर सिक्नको लगि इच्छा राखेर उनीसँग आउनेहरुलाई उनले सिकाउँदै आएकी छन् । सिकाउन झर्काे नमान्ने र काममा खटिएरै गर्ने भएको हुनाले जिल्लाका विभिन्न स्थानहरुमा तालिमका लागि उनको माग हुने गरेको छ । पछिल्लो समय छिमेकी जिल्लाहरुबाट पनि तालिममा सहजीकरण गर्नको लागि उनको माग बढेको छ । चुरा बनाउन थालेपछि वसन्ताले घर खर्च आफै जुटाउन थालेकी छन् । छोराछोरीको पढाइदेखि सम्पूर्ण घरखर्च आफै टारेकी छन् । घरखर्च चलाएर पनि उनले मासिक रुपमा पैसा जम्मा गर्र्दै आएकी छन् ।

घरमै बसिबसी आम्दानी गर्न थालेपछि उनको श्रीमान् पनि खुसी छन् । उनका दुई छोरी र एक छोरा छन् । श्रीमान्को कमाइले मात्र कोठाभाँडादेखि सम्पूर्ण खर्च चलाउन मुस्किल भएको थियो । वसन्ताले आफै कमाउन थालेपछि उनले पैसा बचत गर्न थालेकी छन् ।

यसलाई ‘सुर्खेती चुरा’ उद्योगको रुपमा विकास गरी तालिम दिने सेन्टर सञ्चालन गर्ने उनको सोच रहेको छ । ‘मैले जानेको सीप सिकाएर अरु दिदीबहिनीहरुलाई पनि आर्थिक रुपमा सक्षम र रोजगारीमूलक बनाउँछु,’ उनी भन्छिन्, ‘आत्मनिर्भर भयो भने महिलामाथि घरपरिवारले गर्ने व्यवहार पनि फरक हुने रहेछ ।’ महिला हिंसा अन्त्य गर्नको लागि महिला आत्मनिर्भर हुन जरुरी रहेको उनको भनाई छ ।

वसन्ता जस्तै वीरेन्द्रनगरका यामु पुलामी पनि यस्तै चुरा बनाएर मनग्ये आम्दानी गर्न सफल भएकी छन् । एक महिनाकै अवधिमा १५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएको उनी बताउँछिन् । आफुले बनाएको चुराको अहिले धेरै माग आएको भन्दै उनले माग अनुसारको चुरा बनाउन नभ्याइएको बताउँछिन् ।

आफ्नो टोलमा चुरा बनाएको थाह पाएपछि वीरेन्द्रनगरकी हिरा सिंह पनि वसन्तासँगै सिक्न आउँछिन् । हिराको पनि वसन्ता र यामु जस्तै सीपमा दखल राखेर आत्मनिर्भर हुने चाहना छ । यही चाहना पूरा गर्न उनी चुरा बनाउन सिक्न थालेकी छन् । ‘दिनभरि खाली बस्दा दिमाग भारी हुने अनेक सोचाइ आउँथ्यो,’ उनी भन्छिन्, ‘तालिममा आउन थालेपछि आनन्द महसुुस भएको छ ।’ तालिम सिकेर व्यवसाय अपनाउने उनको धोको छ । लकडाउनको समय सदुपयोग गर्नको लागि राम्रो उपाय भएको उनको भनाइ छ ।

बुटवल र रुपैडिया लगायतका बजारका चुरा लगाउँदै आएका यहाँका स्थानीय महिलाहरु स्थानीय स्तरमै उत्पादन गरेको चुरा लगाउन पाएकोमा खुसी व्यक्त गरेका छन् । स्थानीय सरस्वती थापाले यही उत्पादन भएको चुरा लगाउँदै आएको बताउँछिन् । ‘बाहिरबाट ल्याएको चुराभन्दा यही बनाएको राम्रो र बलियो छ,’ उनी भन्छिन्, ‘चुराको पैसा बाहिर पठाउनु भन्दा आफ्नै दिदिबहीलाई थोरै भएपनि आम्दानी हुन्छ ।’

सुर्खेतको एक गैरसरकारी संस्थाले ६ दिने तालिम सञ्चालन गरेपछि यहाँका महिलाहरु आर्कषण चुरा निर्माण गरी आत्मनिर्भर भएका छन् । वसन्ता र यामुजस्तै तालिम सिकेका अन्य महिलाहरु पनि टोलटोलमा चुरा बनाउन थालेका छन् । नेपालगन्ज र वुटवलको बजारबाट ल्याएको चुरा लगाउँदै आएका यस क्षेत्रका महिलाहरु पहिलोटक स्थानीय चुरा लगाउन पाएका छन् । बजारमुल्य भन्दा सस्तो मुल्यमा चिटिक्क परेका चुराहरु बनाउन थालेपछि सुर्खेती महिलाहरुको यसतर्फ आर्कषण बढेको छ ।

(यो स्टोरी फ्रिडम फोरमको सहकार्यमा तयार गरिएको हो)