शुक्रबार, माघ २५, २०८१

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कर्णालीका तीन अस्पतालका सेवा बन्द

  
जगतदल जनाला विक शुक्रबार, असार १२, २०७७


सुर्खेत । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कर्णालीका तीन अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र जिल्ला अस्पताल सल्यानमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ ।
कर्णाली प्रदेश अस्पतालमा दुई जना चिकित्सकसहित ९ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

कोरोना विशेष अस्पतालको संयोजन गरिरहेका वरिष्ठ चिकित्सक, ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीसहित ९ जनामासंक्रमण देखिएको अस्पताल निर्देशक डाक्टर डम्बर खड्काले बताए । उनका अनुसार एक जना एचए र ६ जना प्रयोगशालाकर्मी पनि संक्रमित भएका छन् । चिकित्सकलाई अस्पतालकै क्वाटरमा बनाइएको आइसोलेसनमा राखिएको डाक्टर खड्काले बताए । केही समयका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको निर्देशक डाक्टर खड्काले बताए ।

जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको थप जोखिम भएकाले अनिश्चितकालका लागि अस्पताल बन्द गर्नुपरेको बताएका छन् ।

सम्भावित संक्रमित व्यक्तिहरूले सूचना लुकाउँदा स्वास्थ्यकर्मीमा संक्रमण फैलिएको चिकित्सकहरूको गुनासो छ । जेठ अन्तिममा कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुगेका तीन जनामा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो । उपचार सुरु भएपछि मात्र उनीहरूमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजिटिभ देखिएपछि तत्काल आकस्मिक कक्ष सिल गरी उपचारमा संलग्न ४२ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

यस्तै एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि सल्यानको जिल्ला अस्पताल बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ । समुदायस्तरमा संक्रमण फैलन नदिन अस्पताल सिल गरिएको अस्पताल प्रमुख डाक्टर अर्जुन बुढामगरले बताए ।