आइतवार, मंसिर ३०, २०८१

चौधरी ग्रुपको कर्णालीलाई २८ लाखको नासो, बिग्रेपछि बनाउन छैन कसैको चासो

  
जगतदल जनाला विक बिहीबार, असार २५, २०७७
चौधरी ग्रुपले सहयाेगस्वरुप पठाएकाे मेसिन जाेडेपछि स्वास्थ्यकर्मीसँग तस्विर खिच्दै कर्णाालीका सामाजिक विकासमन्त्री दल रावल ।

सुर्खेत । चैत तेस्रो साता संघीय सरकारले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एउटा पीसीआर मेसिन पठायो । निकै कम क्षमताको र परीक्षण पनि भरपर्दो नभएपछि नयाँ मेसिनको आवश्यकता महसुस भयो । मेसिन चाँडो ल्याउनुपर्ने दवावबीच कर्णाली प्रदेश सरकारले मेसिन र दाताको खोजी ग¥यो । त्यस्तैमा कर्णाली सरकारलाई सहयोग गर्न अघि बढ्यो– नेपालका एकमात्र अर्बपति धनाढ्य विनोद चौधरीको व्यावसायिक कम्पनी चौधरी ग्रुप ।

विदेशबाट ल्याउन ढिलो हुने भएपछि कर्णाली प्रदेश सरकारले नेपालमै मेसिनको खोजी ग¥यो । २०७६ पुसमा त्रिभुवन विश्वविद्यालयले एउटा मेसिन ल्याएर त्यत्तिकै थन्क्याएको थियो । उतिबेला भ्याटबाहेक १८ लाख ७५ हजार रुपैयाँमा किनिएको उक्त मेसिन त्रिभुवन विश्वविद्यालय चौधरी ग्रुपमार्फत कर्णाली सरकारलाई भ्याटसहित २८ लाखमा बेच्न तयार भयो । चौधरी ग्रुपअन्तर्गतको नबिल बैंकले उक्त मेसिन वैशाख दोस्रो साता खरिद गरेर सुर्खेतमा पठायो । तर, मेसिन २ महिनामै बिग्रिएर थन्किएको छ । कोरोना प्रकोपको त्रासदी बढ्दै गए पनि दाताले उपचार दिएको उक्त मेसिन बनाउनतर्फ भने कसैको चासो छैन । न त कर्णाली प्रदेश सरकारले बनाउनतिर ध्यान दिएको छ, न त मेसिन बेच्ने त्रिभुवन विश्वविद्यालयले नै बनाउने अग्रसरता देखाएको छ । मेसिनको वारेन्टी एक वर्ष भए पनि आपूर्तिकर्ता कम्पनी हात बाँधेर बसेको छ ।

त्रिविका माइक्रोबायोलोजी केन्द्रीय विभाग प्रमुख डा. मेघराज बन्जाराका अनुसार बायोराड ब्रान्डको मेसिन टेन्डर प्रक्रियामार्फत काठमाडौंको हेलिक्स इटरप्राइजेज प्रालिले खरिद गरेर दिएको हो । कम्पनीले मेसिन खरिद गरिएको न्यूनतम १ वर्षसम्म कुनै खराबी आएमा मर्मत गर्ने ‘वारेन्टी’ दिएको छ । हेलिक्सले भने अहिलेसम्म मेसिन बनाउन बेवास्ता गरिरहेको बन्जाराले बताए । ‘हामीले कम्पनीका मान्छेहरुलाई बारम्बार मेसिन बनाउनको लागि प्राविधिक टोली पठाउन भनिरहेका छाै‌ँ, तर कुनै सुनुवाइ भएको छैन,’ उनले भने, ‘हामीले प्रदेश सरकारलाई बेचिसकेकोेले मर्मतको पहल गर्न प्रदेश सरकारले पनि पहल गर्नुपर्ने हो, खै के भइरहेको छ, थाहा भएन ।’

चौधरी ग्रुपले सहयाेगस्वरुप कर्णाालीमा पठाएकाे बायाेराड कम्पनीकाे पीसीअर मेसिन

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पीसीआर परीक्षणको चाप बढिरहेको बेला टेन्डर गरेर खरिद गर्दा ढिलो हुने भएपछि सहयोगको लागि आग्रह गरिएको र सोहीअनुसार चौधरी गु्रपले सहयोगस्वरुप दिएको बताए । मेसिन सञ्चालनमा आएको छोटो समयमै बिग्रिएपछि बनाउनको लागि सम्बन्धित पक्षसँग कुरा भइरहेको उनको भनाइ छ ।

प्रदेश राजधानीमै परीक्षण कार्य रोकिएपछि कर्णाली प्रदेश अस्पतालले नयाँ मेसिन ल्याएको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार सोमबारदेखि उक्त मेसिनबाट परीक्षणको काम सुरु भएको छ । उक्त मेसिन भ्याटबाहेक २४ लाखमा खरिद गरिएको उनले बताए । चौधरी ग्रुपले दिएको मेसिन बिग्रिने बित्तिकै सम्बन्धित ठाउँमा बनाउनको लागि भने पन सुनुवाइ नभएको डा. खड्काको भनाइ छ । ‘हामीले मेसिन बेच्ने त्रिभुवन विश्वविद्यालयदेखि मेसिन आपूर्ति गर्ने कम्पनीलाई जति फोन गर्दा पनि आज–भोलि भन्दै टारिरहेका छन्,’ उनले भने, ‘नयाँ मेसिन आएपछि भने केही राहत भएको छ, तर दाताले दिएको मेसिन यसरी थन्किनु राम्रो सन्देश होइन ।’

हेलिक्स इन्टरप्राइजेजका प्रतिनिधि फिरोज अहमदले भने मेसिन बनाउने मान्छेहरु दिल्लीमा रहेका र लकडाउनको कारण आउन नसक्दा समस्या भएको बताए । ‘मेसिनको सप्mटवेयर प्रणालीमा कुनै समस्या छैन, सायद हार्डवेयरमा समस्या भएको हुनसक्छ,’ उनले भने, ‘त्यो मेसिन कसरी बिग्रियो भन्ने त कुरा त इन्जिनियरले हेरेपछि मात्र थाहा होला ।’

सुर्खेतस्थित प्रयाेगशालामा चौधरी ग्रुपले पठाएकाे पीसीअर मेसिन