सुर्खेत । करिब एक साता अघिसम्म कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध खरो उत्रिएको थियो । बजेटको विषयलाई लिएर संसदमा अवरोधमात्र होइन, संसद बहिस्कारसम्म गर्न पुग्यो । १० पटकसम्म त संसदमा अवरोध भएको थियो । एकातिर सत्तापक्षीय सांसदहरुकै असन्तुष्टि, अर्कोतिर प्रतिपक्षको चट्टानी अवरोध, यसले गर्दा कतै बजेट पास हुँदैन कि भन्ने चिन्ताले सरकारलाई सताएको थियो । तर, बुधबार संसदबाट बजेट एकाएक पारित भयो । त्यसमाथि बहुमतले मात्र होइन, सर्बसम्मत रुपले बजेट पारित भयो । यसले सबैलाई अचम्भित पा¥यो । आखिर कांग्रेसले प्रदेशसभामा १८० डिग्रीको फन्को किन मा¥यो त ?
यही प्रश्नको जवाफ दिन शुक्रबार दिउँसो कांग्रेस संसदीय दलले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सो अवसरमा संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले आफूहरुको मागबमोजिम बजेटमा सुधार गरेको कारण सर्बसम्मत रुपमा बजेट पास गर्न सहयोग गरेको बताए । ‘सरकार सच्चिन्छ र राम्रो काम गर्छ भने हाम्रो सधैं सहयोग रहन्छ,’ उनले भने, ‘यसपटक पनि सरकारले हामीले उठाएको आवाज सुनेर बजेटमा संशोधन गरेको कारण सहयोग गरेका हौं ।’
शाहीका अनुसार पूर्वाधार विशेष कार्यक्रमलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सञ्चालन हुने गरी भौतिक मन्त्रालयमा राख्नुपर्नेमा उक्त कार्यक्रमको १ अर्ब २० करोड रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रोजगारमूलक कार्यक्रममा राखिएको थियो । अहिले उक्त बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा राखिएको छ । संशोधनपछि मुख्यमन्त्री कार्यालयको कुल बजेट ४ अर्ब ९८ करोड ४६ लाख रहेको छ । भौतिक पूर्वाधारको बजेट १२ अर्ब ५० करोड ७० लाख रहेको छ । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत १० वटै जिल्लामा एकमुष्ट शीर्षकमा रहेको १ अर्ब १५ करोड ५६ लाख रकमलाई पनि ब्रेकडाउन गरी खानेपानी सिंचाई, ग्रामीण सडक, झोलुंगे पुल र नदी नियन्त्रण शीर्षकमा विनियोजन गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट प्रत्येक जिल्लामा एकमुष्ट शीर्षकमा १/१ करोडका दरले राखिएको २४ करोडलाई पनि जिल्लागत सिंचाईमा बाँडफाँड गरिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता शाहीले शुक्रबार पत्रकार सम्मेलनमा सरकारकालाई धन्यवादसमेत दिए । उनले अब उक्त बजेटलाई कार्यान्वयन गर्नुपर्ने सुझाव पनि दिए । ‘सरकारले सांसद र प्रमुख प्रतिपक्षीको मागबमोजिम बजेटमा संशोधन गरेको छ, अब यसलाई हुबहु छिटोभन्दा छिटो कार्यान्वयन गरियोस्,’ उनले भने, ‘कांग्रेस सरकारको विरोधी होइन, राम्रो गर्छ भने सहयोगी हो, हामीले यहाँको गरिवी र रोगभोगविरुद्ध एकसाथ लड्नुपर्ने आवश्यकता रहेको छ ।’