सुर्खेत । बराहताल गाउँपालिका वडा नम्वर १ समसेनीका ३१ वर्षीय शिवराम रानाको चार महिनापछि कंकाल भेटिएको छ ।
२०७६ फागुन १० गते शिवराम र उनका साथीहरु याम बहादुर बिसी र सुर्य बहादुर वली बर्दिया ठाकुरद्वार नगरपालिका –१बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका थिए ।
सोही क्रममा शिवराम बेपत्ता भएपछि उनकी श्रीमती मनरुपा रानाले याम बहादुर र सुर्य बहादुरले कर्तव्य ज्यान गरेर मारेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दिइन् । एसपी भट्टका अनुसार प्रारम्भिक अनुसन्धानमा यामबहादुर र सूर्यबहादुरले शिवरामलाई बाघले मारेको बयान दिएका छन् ।
आइतवार सुर्खेत प्रहरीले रानाको कंकाल तथा लताकपडा सार्वजनिक गर्दै वेपत्ता भएको उजुरी परेको चार महिनापछि कंकाल फेला पारिएको जनाएको छ । उनीहरुविरुद्ध उजुरी परेपछि असार १६ गते याम ब समसेवी र सुर्य बहादुर वलीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले सिकार खेल्न गएका बेला शिवरामलाई बाघले आक्रमण गरेपछि अन्य दुई जना भागेर बर्दिया गई एक दुई दिनपछि भारत गएको अभियुक्त दुई जनाले बयान दिएको बताए ।
‘उनीहरु तीन जना बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका बेला एक्कासी बाघले शिवरामलाई आक्रमण गरेपछि हामी भागेर बर्दिया गयौं त्यसको दुई तिनदिनपछि भारत गयौं,’ अभियुक्तको भनाईलाई उदृत गर्दै एसपी भट्टले भने,’ मृत्तककी श्रीमतीले दिएको उजुरीका आधारमा भारतबाट फर्किएर गाउँमा आएको मौकामा हामीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाएका छौं ।’
चार महिनापछि यहि असार १६ गते घटनास्थलमा अनुसन्धानका लागि प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा प्रहरी खटिएको प्रहरीले रानाको हात, खुट्टा र टाउकाको हड्डीसहित एकथान भरुवा बन्दुक, हँसिया, बारुद, खुकुरी, थाल, हापपाइन्ट, झोला, चप्पल फेला पारेको थियो ।
उक्त सामग्री मृत्तकका बुवा र श्रीमतीलाई देखाउँदा शिवराम नै भएको पुष्टि भएपछि सनाखत समेत गरेका छन् ।
घटनाको प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक गोपाल रायमाझीले रानाको हाड तथा कपडाहरु निकुञ्जको भिरालो झाडीमा फेला परेको बताए । उनले लताकपडा, चप्पल, झोला र हाड केही दुरीमा फेला परेको भन्दै जानकारी दिए । एसपी भट्टले किटानी जाहेरी दिएकाहरुलाई नियन्त्रणमा लिइ घटनाको विस्तृत अनुसन्धान थालिसकिएको बताए ।