सोमवार, जेष्ठ २८, २०८१

४५ वर्षदेखि जुत्ता सिलाउँदै आएका मनबहादुर भन्छन्– ‘सडक छोडेर कहाँ जाऊँ ?’

अरुका जुत्ता सिलाउने मनबहादुर आफै जुत्ता लगाउनको लागि भने तिहार कुर्छन्

  
जगतदल जनाला विक मंगलबार, साउन ६, २०७७
वीरेन्द्रनगर–६, घण्टाघरलाइनको सडक छेउमा छाता टाँगेर जुत्ता सिलाउँदै मनबहादुर सार्की

सुर्खेत । २०१७ सालमा जन्मिएका मनबहादुर सार्कीले १५ वर्षकै उमेरमा जुत्ता–चप्पल सिलाउने काम थाले । ४५ वर्षसम्म उनले हजारौं मान्छेका थरिथरि जुत्ता–चप्पल तुने । पालिस लगाएर जुत्ता पनि टल्काए । उनको जीवनमा भने जुत्ता बिलासी बस्तु सरह भएको छ । एक जोर जुत्ता लगाउन उनी दसैं–तिहार कुर्छन् । बहिनीलाई टीका लगाउन दैलेख जाँदामात्र उनको खुट्टामा जुत्ता पस्छ ।

दैलेखको चामुण्डामा जन्मेका मनबहादुर २०३९ सालमा बुवासँगै सुर्खेत, कुनाथरीमा (बराहताल) मा बसाइँ सरे । उनले लामो समय त्यहीँ जुत्ता सिलाउने काम गरे । पछिल्लो एक दसकदेखि वीरेन्द्रनगरका सडक छेउमा छाता टाँगेर जुत्ता सिलाइरहेका छन् । ‘मेरोमा जुत्ता सिलाउन र पालिस गर्न नेतादेखि हाकिमसम्म आउँछन्, सस्तोदेखि महँगो मुल्य पर्ने जुत्ता सिलाएको छु,’ उनले भने, ‘आफूले एक जोर जुत्ता लगाउन भने तिहार कुर्नुपर्छ ।’

मनबहादुर दैनिक १० जोरसम्म जुत्ता–चप्पल सिलाउँछन् । यस हिसाबले उनी महिनामा करिब ३ सय जोर जुत्ता चप्पल सिलाउँछन् । मनबहादुरले जुत्ता सिलाएरै दुई छोरा र दुई छोरीलाई हुर्काए । ५ जना नातिनातिनी देखिसके । छोराहरु छुट्टिएर अलग्गै बसेकाले श्रीमान–श्रीमतीको लागि दैनिक गुजारा गर्न खासै गाह्रो पनि छैन । एक वर्षपछि उनी सामाजिक सुरक्षा भत्ता पाउँदैछन् । त्यसपछि केही सहज हुने उनको अनुमान छ ।

वीरेन्द्रनगरको सडकमा बसेर काम गर्न उनलाई सजिलो छैन । कहिले नगरपालिका त कहिले ट्राफिक प्रहरी आएर हैरान पारिरहन्छ । तैपनि जीवन धान्न उनी सडक छोड्न सक्दैनन् । ‘छाता हालेर बस्दा पनि नगरपालिकाले बस्न दिँदैन, कोठा लिएर बसौं भने आर्थिकले धान्दैन,’ उनले भने, ‘हामीसँग सीप छ, सरकारले दुःख दिनुभन्दा काम गरेर खाने वातावरण मिलाए कति राम्रो हुन्थ्यो ।’

मनबहादुर हरेक दिन सडकमा जीवनसँग संघर्ष गर्छन् । घाम, पानी, चिसो, गर्मी, लामखुट्टेले सताइरहन्छ । तैपनि उनी इलम गरेर पैसा कमाउनुपर्छ भन्ने मान्यता राख्छन् । ‘कहिँकतै बसेर हात थापेर मागे पनि पैसा त आउँछ,’ उनले भने, ‘तर म आफूसँग भएको सीप प्रयोग गरेर बाँच्न चाहन्छु ।’

उनी दैनिक करिब २ सयदेखि ४ सय रुपैयाँ कमाउँछन् । कोरोनाको महामारीपछि त यही कमाइ पनि छुटेको छ । नगरपालिकाले २५ केजी चामलमात्र दिएको उनको भनाइ छ । बरु यस अवधिमा ७ हजार रुपैयाँ ऋण काढेको मनबहादुरले बताए ।

उनी राजनीति र नेताप्रति भने आक्रोश पोख्छन् । चुनावको बेला विभिन्न नारा दिने उनीहरुले चुनाव जितेपछि बेवास्ता गर्ने गरेका उनको भनाइ छ । नगरपालिकामै पनि चुनाव जितेर गएका मेयर, उपमेयरले सहज रुपमा व्यापार व्यवसाय गर्ने व्यवस्था गर्नुको साटो सडकबाटै लखेट्ने प्रयास गरेकोमा उनी चित्त दुखाउँछन् ।