सुर्खेत । कालीकोटको पहिरोमा परी बेपत्ता भएका मध्ये ४ जनाको शव भेटिएको छ ।
२ जना अझै बेपत्ता भएका छन् ।
सोमबार राति परेको अविरल वर्षाका कारण रास्कोट नगरपालिका–१ बडुवालतोलामा रहेको जयबहादुर शाहीको घर पुरिएको थियो ।
घर पुरिँदा शाहीसहित अरु ४ जना बेपत्ता भएका थिए । मंगलबार बिहान जयबहादुर शाहीको शव भेटिएको थियो । मंगलबार नै दिउँसो सोही पहिरोमा पुरिएका अरु दुईको शव भेटिएको रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बरालले जानकारी दिए ।
यस्तै, वडा नम्बर १ कै चोक्टेबगरमा टेके टमट्टाको घर पहिरोले पुर्दा बेपत्ता भएकी केश्पुरा शाहीको शव भेटिएको उनले जानकारी दिए । उनी सन्नीत्रिवेणी गाउँपालिका–७ की हुन् ।
साथीको घरमा बस्न गएकी उनी घर भत्किँदा बेपत्ता भएकी थिइन् ।
टेके टमट्टा र उनकी छोरी घाइते भएका छन्। यसअघि उनीहरू दुई जनासहित अर्का एक जना बेपत्ता भएको भनिएको थियो ।
बेपत्ता भनिएका तीन जना सकुशल रहेको मेयर बरालले बताए ।
सोमबार रातिकै वर्षाका कारण रास्कोट नगरपालिका वडा नम्बर ९ बालुखेतमा दुई घर भत्किएका छन् । त्यहाँ मानवीय क्षति भने नभएको मेयर बरालले बताए ।
रास्कोट नगरपालिका–१ चोक्टेवाडाकै ५८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिममा बस्ती रहेकाले त्यहाँका मानिसलाई नजिकै रहेको विद्युत गृह र केही घरमा स्थानान्तरण गरिएको बरालले बताए ।
रास्कोट नगरपालिकाकै चोक्टे बगरकै अरु ९ घर पहिराको उच्च जोखिममा रहेको मेयर बरालले बताए ।
त्यहाँको बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए ।
वडा नम्बर १ कै वेल्केढुंगामा ६ वटा घर उच्च जोखिममा रहेका छन् । त्यहाँको बस्तीलाई अन्यत्र सारिसकिएको छ ।
यस्तै, रास्कोट नगरपालिकाकै वडा नम्बर–३ को कुमालवाडाका २५ घर पहिरोको उच्च जोखिममा रहेको मेयर बरालले जानकारी दिए ।
वडा नम्बर–८ को फडारटाडामा पनि ९ घर उच्च जोखिममा रहेका छन् ।