शनिबार, भदौ २९, २०८१

वडाध्यक्ष शाहले सरकारी बजेटबाट बनाए आफ्नै खेतमा पानीपोखरी

  
जगतदल जनाला विक बुधबार, साउन १४, २०७७
सरकारी बजेटबाट वडाध्यक्ष प्रशन्नकुमार शाहको निजी खेतमा बनेको पानी पोखरी

सुर्खेत । गुर्भाकोट नगरपालिका–४ का वडाध्यक्ष प्रशन्नकुमार शाहले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको बजेटबाट आफ्नै जग्गामा पानी पोखरी बनाएका छन् । वडाध्यक्ष शाहले नगरपालिकाको वडा नं. ४ मा रहेको आँपखोलीस्थित घरनजिकै खेतमा करिब ७ लाख रुपैयाँमा पोखरी बनाएका हुन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले आँपखोलीमा तीनवटा पानीपोखरी बनाएको छ । दुईवटा सार्वजनिक जग्गामा बनेका छन् भने एउटा वडाध्यक्ष आफैले आफ्नो खेतमा बनाएका हुन् । स्थानीय बासिन्दाले वडाध्यक्षको उक्त कार्यको बिरोध गरेका छन् । वडाध्यक्षजस्तो पदमा बसेको व्यक्तिले सार्वजनिकस्थल वा सबैलाई सुविधा हुने गरी पोखरी बनाउनु पर्नेमा आफ्नै नम्बरी जग्गामा पोखरी बनाउँदा आश्चर्य लागेको स्थानीयबासी राम डाँगीले बताए । ‘उहाँले यहाँका स्थानीय जनतासँग कुनै सरसल्लाह नगरेरै असार मसान्तमा हतारहतार पोखरी बनाउनु भएछ,’ उनले भने, ‘जनप्रतिनिधिले नै यस्तो काम गरेपछि जनताले विकासको आशा कोसँग गर्ने ?’

वडाध्यक्ष शाहले आफ्नो निजी लगानीमा पोखरी बनाउने तयारी भइरहेको अवस्थामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट पैसा आएपछि सोही बजेटबाट पोखरी बनाएको बताए । ‘चुरेका कर्मचारीले पोखरी बनाउनुपर्ने भयो भनेपछि उनीहरुसँगको सल्लाहमै उपयुक्त जग्गा भएपछि मेरो खेतमा बनाइएको हो,’ उनले भने, ‘बजेट कति हो भन्ने पनि खुलाएनन्, यसको लगत स्टिमेट र अन्य खर्चबारे पनि मलाई थाहा भएन ।’

गुर्भाकोटका नगर प्रमुख हस्त पुनले राष्ट्रपति चुरे सरंक्षण कार्यक्रमले नगरपालकासँग कुनै समन्वय नगरी कार्यक्रम सञ्चालन गरेकोले त्यसबारे जानकारी हुन नसकेको बताए ।