मंगलबार, मंसिर २५, २०८१

जसले विश्वविद्यालयको पदावधि सकिएपछि पढाउन थाले

  
कर्णाली टाइम्स शुक्रबार, साउन १६, २०७७
डा. महेन्द्रकुमार मल्ल सुर्खेत क्याम्पस शिक्षाका सहकर्मीकाे साथमा

सुर्खेत । नेपाली भाषा–साहित्यमा पीएचडी गरेका डा. महेन्द्रकुमार मल्लले असार २९ गते आफ्नो फेसबुक पेजमा ‘अध्ययन, अध्यापन, लेखन र अनुसन्धानको पाटो पुनः सुचारु भएको’ भन्दै फोटो पोष्ट गरे । उक्त फोटो र लेखिएको क्याप्सनले धेरैको ध्यान खिच्यो । किन कि डा. मल्ल सोही क्याम्पसका पूर्वप्रमुख हुनुका साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा निमित्तसमेत गरी झण्डै ७ वर्ष रजिष्ट्रार भएका प्राज्ञिक व्यक्तित्व थिए । रजिष्ट्रार भइसकेको मान्छे फेरि पढाउन थाल्यो भन्दै कतिपयले आश्चर्य पनि व्यक्त गरे ।

तर डा. मल्ल भन्छन्, ‘प्राध्यापन (शिक्षण) पेशाजस्तो सम्मानित र उच्च अरु हुन सक्दैन, विश्वविद्यालय सेवामा प्रवेश गरेका मान्छेहरुको लागि प्राध्यापन गराउनुको आनन्द अर्कै हुन्छ ।’ लकडाउनको कारण पढाउन नपाए पनि पदीय जिम्मेवारीबाट सक्रिय प्राध्यापनमा फर्किन पाउँदा मन प्रफुल्लित भएको उनले बताए ।

प्रा. डा. हिराबहादुर महर्जन

मल्लमात्र होइन, नेपालका विश्वविद्यालयमा उपकुलपतिसहित महत्वपूर्ण पदाधिकारीमा रहेका प्राध्यापकहरु आफ्नो कार्यकाल सकिएपछि प्राध्यापनमा फर्केका थुप्रै उदाहरण छन् । तीमध्येका एक हुन्– त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. हिराबहादुर महर्जन । २०६८ देखि २०७२ सम्म उपकुलपति रहेका महर्जनको कार्यकाल सकिएपछि उनी विश्वविद्यालयकै केन्द्रीय गणित विभागमा पढाउन थालेका थिए । करिब २ वर्षसम्म अध्यापन गरेपछि ६३ वर्षे उमेर हदको कारण उनी अनिवार्य अवकास भए । ‘हामी जुनसुकै पदमा पुगे पनि हाम्रो धरातल भनेकाे पढाउने हो, यसलाई हामीले अन्यथा मान्ने कुरै भएन, प्रा. डा. महर्जन भन्छन्, ‘मैले त अवकाश भएपछि पनि ‘भोलेन्टियर्ली’ रुपमा एमफिलको कक्षा लिएँ, अहिले पनि पीएचडीको गाइड गरिरहेको छु ।’

प्रा. भूषण श्रेष्ठ

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलति प्राध्यापक भूषण श्रेष्ठले पनि पदावधि सकिएपछि करिब ६ महिना त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गरिन् । सोही विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा. डा. द्विधराज भट्ट पनि त्रिभुवन विश्वविद्यालयकै विज्ञान संकायमा कार्यरत छन् । प्राध्यापक श्रेष्ठ भन्छिन्, ‘विश्वविद्यालय सेवामा प्रवेश गरेदेखि सुरु गरेको काम (पढाउन) सेवा अवधिको अन्तिममा त्यसैगरी पढाउन पाउँदा निकै ‘इन्जोय’ गरियो ।’

सहप्रा. यामबहादुर कार्की

मध्यपश्चिमाञ्चल विश्वविद्यायमै शिक्षाशास्त्र संकायका डीन तथा करिब डेढ वर्षसम्म निमित्त रजिष्ट्रार रहेका सहप्रा. यामबहादुर कार्की पनि प्राध्यापनमै फर्केका छन् । सोही विश्वविद्यालयका पूर्वडीन प्रा. डा. देवबहादुर खड्का पनि आफ्नो कार्यकाल सकिएपछि त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र केन्द्रीय विभागमा पढाउन थालेका छन् । त्रिभुवन विश्वविद्यालयको दोस्रो महत्वपूर्ण कार्यकारी पद मानिने शिक्षाध्यक्ष (रेक्टर) रहेका प्रा. गुणनिधि न्यौपानेले पनि आफ्नो पदावधि सकिएपछि नेपाल ल क्याम्पसमा डेढ वर्षसम्म सक्रिय प्राध्यापन गरे । उमेर हदको कारण अनिवार्य अवकाश भएपछि प्राध्यापन पेशाबाट बिदा लिएका छन् । पोखरा विश्वविद्यालयका रजिष्ट्रार रहेका गोविन्द शर्मा पनि अहिले पृथ्वीनारायण क्याम्पसमा पढाइरहेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शिक्षाशास्त्र संकायका संस्थापक डीन रहेका लालमणि आचार्य त्रिभुवन विश्वविद्यालयमा पुनः प्राध्यापनमा फर्केर अहिले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख भएका छन् ।

प्रा. गुणनीधि न्यौपाने

विदेशमा त देशको महत्वपूर्ण राजनीतिक जिम्मेवारीमा पुगेकाहरु पनि खुसीसाथ प्राध्यापन पेशामा फर्केर रमाउने गरेका थुप्रै उदाहरण छन् । भारतका पूर्वराष्ट्रपति मोहम्मद अब्दुल कलामले समेत आफ्नो राष्ट्रपतीय शासनकालपछि विश्वविद्यालमा गएर पढाएका थिए । नेपालकै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत अतिथि प्राध्यापकको रुपमा कहिलेकाहिँ विश्वविद्यालया विद्यार्थीलाई प्रवचन दिने गरेका छन् ।

त्रिुभवन विश्वविद्यालयका साथै अन्य विश्वविद्यालयहरुमा प्राध्यापकले ६३ वर्षसम्म सेवा गर्न पाउँछन् । उमेरहद अगावै पदमा रहेको कार्यकाल सकिएमा उनीहरु पुनः प्राध्यापनमै फर्किने गर्छन् । डा. मल्ल मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना मूलसमितिका सचिवसमेत हुन् । विश्वविद्यालय स्थापना गर्नदेखि स्थापनापछि रजिष्ट्रारको रुपमा विश्वविद्यालयको भौतिक तथा प्राज्ञिक विकासमा आत्मसन्तुष्टि हुने गरी काम गरेपछि पुनः प्राध्यापन कार्यमा फर्किँदा खुसी लागेको बताउँछन् ।