मंगलबार, माघ ८, २०८१

स्वास्थ्य केन्द्रको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै गाउँपालिकामा तालाबन्दी

  
कर्णाली टाइम्स शनिबार, भदौ १३, २०७७

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–१ सिराडीकी २३ वर्षीया महिलाको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै आफन्तले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

२३ वर्षीय पार्वती शाहीलाई भदौ ११ गते बिहान सुत्केरी विराम लागेको थियो । बिहान ११ बजे उनलाई लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको र दिउसो तीन बजे पार्वतीले छोरी जन्माएकी थिइन् । त्यसपछि उनलाई रक्तस्राब भएका थियो । अस्पतालले समयमै रेफर नगरेको र उपचारका लागि पालिकाले हेलिकप्टर वा अन्य साधनको व्यवस्था नगरिदिएका कारण पार्वतीको ज्यान गएको बताउँदै आन्दोलनमा उत्रिएको उनका आफन्त सर्जन शाहीले बताए ।

अस्पताल र प्रशासनलाई बारम्बार यहाँ सञ्चो नहुने भएपछि बाहिर जान्छौ भनेपनि उनीहरुले तत्काल रेफर नगर्दा सुत्केरीको मृत्यु भएको आरोप लगाए । साँझ ६ बजे प्रदेश अस्पतालमा ल्याएका थिए भने राति १२ बजे अस्पतालले मृत्यू भएको घोषणा गरेको थियो ।
उनले पालिकाले एक एम्बुलेन्सको पनि व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै ज्यानमारालाई हदैसम्मको कारवाही गर्नुपर्ने नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।

गाउँपालिका अध्यक्ष धीर बहादुर शाहीले आफु गाउँपालिका बाहिर रहेको र साढे ६ बजे मात्र आफुलाई खबर आएपछि जिल्ला प्रशासन कार्यालयमा तत्काल हेलिकप्टरका लागि प्रयास गरेपनि रातीमा हेलिकप्टर नआउन सक्ने भएकोले कुनै उपाय नलागेपछि गाडीको व्यवस्था गरेर सुर्खेत पठाएको बताए ।