शुक्रबार, माघ २५, २०८१

… त्यसपछि खोलियो चार वर्षदेखि बाँधिएका मनीसराका हात !

  
जगतदल जनाला विक बिहीबार, भदौ १८, २०७७
बराहताल गाउँपालिका – ८ स्थित माइतमा हात बाँधेर राखिएकी मनीसरा ।

सुर्खेत। बराहताल गाउँपालिका– ८ की मनीसरा विक ३६ वर्षकी भइन् ।  बिगत १२ वर्षदेखि उनलाई मानसिक रोगको समस्या छ ।

आमा बुवाले उनलाई १८ वर्षको उमेरमा बिवाह गरिदिए । उनका ४ सन्तान मध्ये अहिले २ छोरा मात्र छन् । २ छोरीलाई गुमाएपछि मानसिक अवस्था बिग्रदै गयो । घरजहान र माइतीले झारफुक, धामी, झाँक्रि गरे । त्यसले कुनै फरक पारेन । छिमेकीको सहयोगमा वीरेन्द्रनगर ल्याइ ५ महिना जति औषधी खाइन् । औषधी खाँदासम्म अलि ठिक भएको महशुस गरिन् ।

आर्थिक अभावका कारण औषधीलाई निरन्तरता दिन नपाएपछि बिरामले झन् च्याप्यो । गाउँका सबैले हेलाहोचो गर्न थाले मानसिक समस्या भएका बेला जंगलमा हिँड्ने मनिसरालाई समाजले बौलाहा, पागल जस्ता उपनाम समेत दियो । केटाकेटी देख्नबित्तिकै ढुङ्गा मुढाले लखेट्थे । त्यसपछि कोही देखेपछि झम्टिन जान्थिन । त्यसैले उनलाई घरका मान्छेले ४ वर्षदेखि हात बाँधेर कोठाभित्र हुल्थे । खाना खाँदा र चर्पी जाँदा बाहेक उनका हातहरु बाँधिएकै हुन्थे ।

‘कतिबेला मेरो दिमागले काम गर्न छोड्छ, छोराछोरीको चिन्ता मान्छु, श्रीमान् छैनन,’ उनले भनिन्, ‘धामी झाँक्रि गर्यौं तर ठिक भएन अनि घरका मान्छेले दिनभर हात बाँधेर कोठाभित्र राख्थे ।’

श्रीमान् बितेको ४ महिनापछि मनिसरालाई माइती घरमा लगेर राखियो । माइतीघरमा पनि हात बाँधेरै राखेको थाहापाएपछि बराहताल गाउँपालिकाका अध्यक्षले मानव सेवा आश्रम सुर्खेतलाई खबर गरे । घरमैं बाँधेर राखिएको अवस्थामा भदौ १५ गते मानसेवाको टीम गएर उनलाई वीरेन्द्रनगरमा ल्यायो । उनका ९ र ११ वर्षीय छोराहरु मामाघरमैं बसेका छन् ।

मानवसेवा आश्रममा ल्याइसकेपछिकी मनीसरा ।

मानवसेवा आश्रममा ल्याएदेखि उनलाई ठिक हुँदै गएको छ ।
मनीसराले समाजमा मानसिक रोगीहरुलाई गरिने व्यवहार नराम्रो भएको बताउँदै आफ्ना ४ वर्षसम्मका नमिठा अनुभव सुनाइन् । हात बाँधेर ४ वर्षदेखि कष्टकर जीवन बिताइरहेकी मनीसरा मानवसेवा आश्रममा खुसी छिन् । आफुहरु जस्तै दःख पाएका महिला, बालबालिका र जेष्ठ नागरिकहरुसँगै रमाएकी उनले यहाँबाट फर्किएर समाजमा केहि उदाहरणीय काम गर्ने सपना देखेकी छन् ।

गाउँघरमा मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान नहुँदा समयमा उपचार नगरी धामी झाँक्रिको भर पर्ने हुँदा पनि मानसिक रोगका बिरामीहरुलाई समस्या पर्ने गरेको मानवसेवा आश्रम कर्णाली प्रदेशकी संयोजक सिर्जना ओली बताउँछिन् ।

‘गाउँमा मानसिक स्वास्थ्य सम्बन्धी ज्ञानको अभाव छ, कसैलाई त्यस्तो समस्या देखिएपछि अस्पतालको साटो धामी, झाँक्रि र झारफुकमा लाग्छन्,’ प्रदेश संयोजक ओलीले भनिन्, ‘हामीले त्यस्ता व्यक्तिहरुलाई आश्रममा ल्याएर नियमित औषधी उपचार गछौं त्यसपछि निको बनाएर घर पठाउछौं ।’

मानवसेवामा आश्रित अन्य व्यक्तिहरु ।

२०७५ माघ १८ गते स्थापना भएको मानव सेवा आश्रम सुर्खेतमा अहिले महिला, पुरुष, बालबालिका र जेष्ठ नागरिक गरी ४९ जना आश्रित छन् । संयोजक सिर्जना ओलीका अनुसार हालसम्म ८० जना भन्दा बढीलाई पारिवारिक मिलन गराइसकिएको छ । कर्णालीका विभिन्न जिल्लाका सडकबाट उद्धार गरेर ल्याइने गरेको उनले बताइन् ।  हाल मानवसेवा आश्रमका १५ जिल्लामा २१  शाखा रहेका छन् ।